पर्वत समाज अमेरिकाको अध्यक्षमा पुनः शर्मा

parbat-us
लोकपाटी न्यूज

निर्मल पौडेल/ पर्वत, २१ असोज। नयाँ कार्यसमिति चयन गर्दै पर्वत समाज अमेरिकाको छैटौँ साधारण सभा सम्पन्न भएको छ। मेरीलैण्ड राज्यको बाल्टीमोरमा अवस्थित (BANA) बाना को सभा हलमा सम्पन्न अधिवेशनले रविन शर्माको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। शर्मा एक कार्यकालको नेतृत्व गरिसकेका व्यक्ति हुन्।

अहिले फेरि उनकै नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। जसको वरिष्ठ उपाध्यक्षमा मिलन बानियाँ चयन भएका छन्। उपाध्यक्षमा रोशन लामिछाने र सञ्जीव पौडेल चयन भएका छन्। उपाध्यक्ष पौडेल सामाजिक तथा राजनैतिक रुपमा सक्रिय व्यक्ति हुन्। संस्थाको महासचिवमा शिवलाल पुरी सचिवमा ईश्वर श्रेष्ठ,कोषाध्यक्षमा आनन्द शर्मा र सह कोषाध्यक्षमा राजेश जिसीलाई कार्यभार दिइएको छ।

यस्तै सदस्यहरूमा रेजीना गिरी,मौलिक लामिछाने,अश्मी भण्डारी,मनु गिरी,मुकुन्द पौडेल,रुपेश गिरी,सूर्य केसी,गंगबहादुर क्षेत्री,राम मल्ल,गीता सुवेदी,विनोद शर्मा,अर्जुन क्षत्री,दामोदर पौडेल,निरन गुरुङ र सुरज लामिछाने निर्विरोध चयन भएका छन्।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि मेरीलैण्ड राज्य संसद् ह्यारी भण्डारीले नेपाल राज्यको पर्वत जिल्लामा जन्मेर अमेरिकामा कर्मथलो बनाउने नेपालीहरूको सामाजिक संस्था पर्वत समाज अमेरिकाको खुलेर प्रशंसा गरेका थिए। भण्डारीले भने “ यस संस्थाको समृद्धि र गरिमा बढाउन म सदैव यहाँहरू जस्तै तन मन दिएर लागि पर्नेछु, नयाँ कार्यसमिति लाई हार्दिक बधाई तथा शुभकामना।“ भण्डारीले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका लागि ठुलो हल बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथि अवैतनिक महावाणिज्य दूत प्रेम राजा महत् , वरिष्ठ समाजसेवी श्याम कार्की,संस्थाका संस्थापक अध्यक्ष भरत श्रेष्ठ,एनआरएनको अध्यक्ष कुल गुरुङ ,बानाका अध्यक्ष सुबोध विलास पन्त,महिलासंघ पर्वतकी सभापति मुना शर्मा लामिछाने लगायतले बोलेका थिए। बोल्ने वक्ताहरूले संस्थाले निस्वार्थ रुपमा विगतमा समुदायमा पुर्‍याएको योगदानको खुलेर प्रशंसा गर्दै एक उदाहरणीय संस्था बनाउन सवै जना हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष मिलन बनियाँले र संस्थाको प्रगति प्रतिवेदन महासचिव रमेश शर्माले प्रस्तुत गरेका थिए। समापन कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष शर्माले आफूलाई पुनः अध्यक्षमा निर्वाचित गराउन लागिपर्ने सबैलाई हार्दिक आभार व्यक्त गरे।

शर्माले संस्थाको गरिमा बढाउने कार्यमा पहिलो कार्यकालमा भन्दा भिन्न तरिकाले लागिपर्ने भन्दै अघिल्लो कार्यकालमा सम्पन्न हुन बाँकी कार्यलाई पूर्णता दिँदै नयाँ कार्य र योजनाहरू पूरा गर्नका लागि आफू अध्यक्षमा दोहोरिएको बताए। अध्यक्ष रविन शर्माको अध्यक्षता,वरिष्ठ उपाध्यक्ष प्रवीण भण्डारीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव शिवलाल पुरीले गरेका निर्वाचित उपाध्यक्ष सञ्जीव पौडेलले जानकारी दिए। सामाजिक रुपमा सक्रिय यस संस्थाले पर्वत लगायत नेपाल र नेपालीहरूका लागि विभिन्न समयमा सामाजिक तथा आर्थिक कार्यक्रमहरू गर्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्