धौलागिरीमा नयाँ गन्तव्य : सम्भव छ जीप फ्लायर ?

Jeep Flyer
दुर्लुङदेखि बागलुङ नगरपालिका–१२ अमलाचौर बलेवामा रहेको भैरवस्थानसम्म, जो समुन्द्री सतहदेखि २२०८ मिटर अग्लो जीप लाइन गराउन सके त्यहाँको आन्तरिक तथा बाह्य पर्यटक आउन मद्दत पुग्ने र नयाँ गन्तव्य पनि बन्नसक्ने थियो।
लाेकपाटी न्यूज

– सचिन्द्र श्रेष्ठ

धौलागिरीको प्रवेशद्वार पर्वत कुश्मा अहिले लामो र अग्लो पुलैपुलको शहर भनेर परिचित छ, साथसाथै धार्मिक तथा पर्यटकीय स्थानले नयाँ–नयाँ सम्भावना, अवसर र गन्तव्य पाइरहेको अवगत नै छ। आन्तरिक तथा बाह्य पर्यटकको अहिले निकै नै बाक्लो उपस्थिति देख्न सकिन्छ।

Sachindra Shrestha
लेखक : सचिन्द्र श्रेष्ठ

अहिले विश्व पर्यटकीय नगरीमा नयाँ सोंच, जाँगर, उद्देश्य र आर्थिक लाभ गर्न अरुभन्दा फरक खालका साहसिक खेलहरुको व्यापक प्रतिस्पर्धा देख्न पाइन्छ। जसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ र राष्ट्रले मनग्गे आम्दानीका बाटाहरू पाउने गरेको छ।

यही फरक साहसिक खेलका बारेमा भनिरहदा पंक्तिकारले यूएईको रसेलखेमामा अवस्थित विश्वकै लामो जीप लाइनलाई नजिकबाट करीब १३ महिना पहिले देखेको थियो। जहाँ स्वदेश तथा विदेशबाट अत्यन्त पर्यटकहरु त्यस खेलको मज्जा लिन आएका थिए। जसलाई हेरिरहदा कता कता आफ्नै ठाउँमा पनि यस्तो एडभेञ्चर खेल बनाउन सके कति पर्यटक नेपालमा भित्राउन सकिने थियो भनेर सोची रहन्थ्यो।

रसेलखेमामा रहेको त्यो जीप लाइन गिनिज वल्र्ड रेकर्डमा समेत विश्वकै लामो जीप लाइन भनेर चिनिन्छ। समुन्द्री सतहदेखि १६८० मिटर अग्लो र २.८ किमि (१.७४ माइल) लामो छ। करीब २ वर्ष पहिले पोखरामा जीप फ्लायर भनेर अर्को साहसिक खेल गरिरहेको बेला केही समय पहिले काभ्रे धुलिखेल नगरपालिका–८ थाकले डाँडादेखि पाँचखाल नगरपालिका–५ खावासम्म ११०० मिटर लामो र १३०० मिटर अग्लो जीप लाइन शुरू भइसकेको छ।

पर्वतलाई सङ्घीय सरकारको पर्यटन मन्त्रालय अन्तर्गत कुश्मा नगरपालिका–३ को दुर्लुङमा रहेको क्यानयोंङ र दक्षिण भेगको महाशिलालाई नयाँ तथा विकास गरिनुपर्ने पर्यटकीय स्थलको रुपमा अघि सारेको थियो। सोहीअनुरूप पंक्तिकारले पनि दुर्लुङदेखि बागलुङ नगरपालिका–१२ अमलाचौर बलेवामा रहेको भैरवस्थानसम्म, जो समुन्द्री सतहदेखि २२०८ मिटर अग्लो जीप लाइन गराउन सके त्यहाँको आन्तरिक तथा बाह्य पर्यटक आउन मद्दत पुग्ने र नयाँ गन्तव्य पनि बन्नसक्ने थियो।

अहिले बाग्लुङ बलेवामा केबलकार सञ्चालन तथा बञ्जी जम्प, साइकिलिङ समेत बन्ने तयारी अन्तिम चरणमा छ। यसले गर्दा बागलुङ बलेवाको भैरवस्थानमा थप तीर्थालु दर्शन गर्न जाने क्रम बढ्दो छ। यसले गर्दा बागलुङ तथा पर्वतमा समेत पर्यटक भित्रिने सम्भावना बढी देखिने र यसलाई प्रदेश राज्य, गैरसरकारी संघसंस्था तथा पर्यटन व्यवसायी लागि परेर अगाडि बढ्न सके धौलागिरीले अझ नयाँ–नयाँ गन्तव्य पाउन सक्छ। राज्य, समाज व्यक्तिलाई रोजगारका सिर्जना हुने आर्थिक उन्नतिमा सहयोग पुग्ने निश्चित छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्