सामाजिक सञ्जालको दुरुपयोगले ४० प्रतिशतले गरे आत्महत्या

pic 4
लाेकपाटी न्यूज

काठमाडौं, ५ जेठ। नेपाल प्रहरीको पछिल्लो अध्ययनले हत्या, हिंसा तथा बलात्कारजन्य घटनाको दर उल्लेख्य सख्यामा बढ्दै गएको देखाएको छ।

काठमाण्डौंमा आइतबार आयोजित समुदाय–प्रहरी साझेदारी विषयक अन्तरक्रियामा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमूख वरिष्ठ प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले यस्तो बताएका हुन्। उनले गाँजा चरेस सेवन लगायत सामाजिक विकृति, समाजिक सञ्जालको बढ्दो दुरुपयोग लगायतका कारणले हिंसाजन्य घटनामा वृद्धि गरेको बताए। उनले हत्या, हिंसा र बलात्कारका घटना गत सालको भन्दा दोब्बर बृद्धि भएको बताए।

उनले निर्मला पन्त प्रकरण पछि नागरिक समाज, अधिकारका क्षेत्रमा काम गर्ने लगायतबाट जनचेतनाका थुप्रै कार्यक्रम भईरहेको भएपनि त्यस्ता घटना बढ्दै जानु सुरक्षाकर्मीका लागि पनि चुनौतिको विषय बनेको बताए।उनले पछिल्लो समय पेशेवर अपराधीबाट हुने अपराध भन्दा सामाजिक विकृतिको कारणले श्रृजित अपराध बढेको बताए।

उनले ५ सय वटा हत्याका घटनामा गरेको विश्लेषणमा १ सय ५३ वटा घटनामा श्रीमानले श्रीमतीको हत्या गरेको र ३० वटा घटनामा श्रीमतीले श्रीमानको हत्या गरेको पाईएको बताए। सामाजिक सञ्जालको दुरुपयोगले पनि हत्या हिंसाका घटना बढाएको अध्ययनले देखाएको छ। उनले ४० प्रतिशत आत्महत्या सामाजिक सञ्जालको दुरुपयोगका कारण भएको पाईएको बताए।

उनले बलात्कारजन्य घटनाको प्रवृत्तिमा पनि फरक आएको बताए। उनले पछिल्लो समय बलात्कारजन्य घटनामा ६४ प्रतिशत पीडीत १८ वर्ष भन्दा मुनिका बालिका भएको र उनीहरु घरपरिवार, नातागोता, छिमेकी , सहकर्मी , शिक्षक लगायतबाट नै बलात्कृत हुने गरेको बताए।

उनका अनुसार यसअघि १६ वर्ष भन्दा माथिका उमेर समुहका बालिकामाथि बलात्कार दर बढ्दो थियो। उनले शान्ति सुरक्षा स्थापनाका लागि प्रहरी एक्लैले मात्रै केही गर्न नसक्ने भन्दै अपराधको प्रकृति र प्रवृत्ति हेरेर समुदायमा आधारित कार्यक्रम मार्फत जनचेतना फैलाउने काममा सहयोग गर्न सबै वर्ग र समुदायलाई आव्हान गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्