पाेखराकाे प्रसिद्ध ‘क्रसरोड थकाली भान्सा’ अब काठमाडौंमा पनि

लाेकपाटी न्यूज

काठमाडौं, ५ जेठ । खानाका पारखीहरुलाई विशेष स्वाद पस्किन सफल  पाेखराकाे ‘क्रसरोड थकाली भान्सा’ काठमाडौंमा पनि खुलेको छ । काठमाडौंको कमलादीमा आइतबारदेखि ‘क्रसरोड थकाली भान्सा’ सञ्चालनमा आएको हाे ।

पोखराको न्यूरोड चिप्लेढुंगाबाट सुरु भएको व्यवसाय विस्तारको क्रममा काठमाडाैंकाे कमलादीमा  पनि खुलेको थकाली भान्साका सञ्चालक वीरेन्द्र शेरचनले जानकारी दिए ।उनले भने, “अरुले काठमाडौंमा सुरु गरेर मोफसलमा विस्तार गर्छन्, हामी मोफसलबाट विस्तार गर्ने क्रममा काठमाडौं प्रवेश गरेका छौं।”  पोखराको न्यूरोड र लेकसाइडमा यसअघि नै व्यवसाय गर्दै आएका शेरचनले काठमाडौंमा ६ जनाकाे लगानीमा खोलेको जनाए । उनले भने,  “हामी अनिल हिराचन, अनिल तुलाचन, राजु ताम्राकार, सविना प्रधान, आक्रोश बज्राचार्य मिलेर याे थकाली भान्सा सञ्चालनमा ल्याएका हौ।”

पोखरा न्यूरोडमा १० वर्ष, लेकसाइडमा ८ वर्षको अनुभव संगालेर काठमाडौंमा खानाका पारखीहरुको लागि विशिष्ट स्वाद पस्किने उद्देश्यका साथ व्यवसाय विस्तार गरेकाे उनले बताए।  “काठमाडौंबाट पोखरा जाने अधिकांश ग्राहकले विशिष्ट स्वाद रहेकाले काठमाडौंमा पनि विस्तार गर्न सुझाव दिनुभएको थियो, ग्राहकको त्यही सुझावलाई आत्मसात गर्दै हामीले काठमाडौंमा सेवा सञ्चालनमा ल्याएका हौं,” शेरचनले भने ।

उनका अनुसार मुस्ताङबाट ल्याएको दाल, फापरको पिठो, च्याङग्राको सुकुटी, जिम्मुलगायतका खाना ‘क्रसरोड थकाली भान्सा’ मा प्राप्त हुनेछ । ‘घोकेन’ (फापरको पिठोबाट बनाइने ब्रेडजस्तो परिकार), ‘आलु सुकुटी प्ला’ लगायतका विशेष खानेकुरा यस भान्साका विशेषता रहेका छन् । ग्राहककै सुझावअनुसार कन्टिनेन्टल खानाको पनि व्यवस्था गरिएको उनले बताए।  “काठमाडौंमा हामीले धेरै ठाउँमा थकाली भान्सा लेखेको पाइयो, तर त्यहाँ थकाली परिकार पाइएन,” शेरचनले भने, “थकाली स्वादका लागि एकपटक हामीलाई सेवा गर्न मौका दिनुहोस् ।”

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्