गोलभेंडाको मूल्य आकाशिएपछि सामाजिक सञ्जालमा ट्रोल

Tomato
सामाजिक सञ्जालबाट लिइएकाे तस्विर
लाेकपाटी न्यूज

काठमाडाैं, ३ जेठ। नेपाली बजारमान एक महिनाको अन्तरालमा गोलभेंडाको मूल्य दोब्बरले वृद्धि भएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि ठूलो गोलभेडाको खुद्रा मूल्य प्रति केजी १ सय १५ रूपैयाँ तोकेको छ। त्यस्तै सानो गोलभेंडाको मूल्य १ सय ५ रूपैयाँ तोकेको छ।

कालिमाटीको तथ्याङ्क अनुसार ठीक एक महिना अघि ठूलो गोलभेंडाको मूल्य प्रतिकेजी ६५ रूपैयाँ थियो। त्यस्तै, सानो गोलभेडाको मूल्य प्रतिकेजी ५५ रूपैयाँ थियो। कालिमाटीमा गोलभेंडाको मूल्य १ सय ५ देखि १ सय १५ रूपैयाँसम्म भए पनि उपत्यकाका अन्य खुद्रा बजारमा भने १ सय २० देखि १ सय ३० रूपैयाँसम्म गोलभेंडाको बिक्री भइरहेको छ।

शङ्खमुल चोकमा विगत ५ वर्षदेखि तरकारी व्यवसाय गर्दै आएका रामलाल भुसालले थोक बजारमै गोलभेंडाको मूल्य बढेकाले आफूले १ सय २० रूपैयाँका दरले बेचेको बताए। गत वर्ष यसै अवधिमा साना–ठूला गोलभेंडाको मूल्य कालिमाटीमा प्रतीकेजी ४५ रूपैयाँ रहेको समितिको तथ्याङ्क छ।मागअनुसार आपूर्ति हुन नसक्दा गोलभेंडाको मूल्य महँगिएको व्यापारी बताउँछन्।

केही साताअघि आएको हावाहुरीले हुर्कदै गरेको बालीलाई नष्ट गरेकाले उत्पादनमा ह्रास आएको कालिमिटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए। उनका अनुसार नेपालको कुल मागमा ७० प्रतिशत गोलभेंडा भारतबाट आउँछ भने ३० प्रतिशत आन्तरिक उत्पादनले धानेको छ। हावाहुरीले आन्तरिक र भारतीय दुवै उत्पादनलाई असर परेको उनले बताए।

भारतीय चुनावका कारण पनि अहिले गोलभेंडा मङ्गो भएको उनको भनाई छ। आपूर्ति प्रयाप्त नभइरहेको अवस्थामा बिहे ब्रतबन्धजस्ता शुभकार्य बढी हुने सिजन भएकाले यतिबेला माग भने अत्याधिक रहेको श्रेष्ठले बताए। उनका अनुसार कालिमाटी तरकारी बजारमा दैनिक १२० देखि १३० टनसम्म गोलभेंडा भित्रने गरेको छ।

अबको २ सातापछि गोलभेडाको मूल्य घट्ने श्रेष्ठले बताए। हावाहुरीको वितंडा मच्चिएन भने अहिले हुर्किएका बिरुवाले उत्पादन दिन थाल्नेछ। अर्कोतर्फ भारतीय चुनाव र मतगणना समेत सकिने भएकाले दुई सातापछि मूल्य घट्न सक्ने व्यापारीको अनुमान छ।

यसरी गोलभेंडाको मूल्य आकाशिएपछि सामाजिक सञ्जालका पनि ट्रोल बनेको छ। फेसबुक जस्ता सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले गोलभेंडासँग तस्विर खिचेर विभिन्न स्ट्याटससमेत पोष्ट गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्