सावधान ! घरेलु मदिरामा प्याड, चप्पल र पिसाबको प्रयोग

Madira
लाेकपाटी न्यूज

काठमाडौं, ३ जेठ। घरेलु मदिरामा महिला महीनावारी हुँदा प्रयोग गरिने प्याड, पुराना चप्पल, पुराना कपडा र पिसाब मिसावट हुने गरेको तथ्य बाहिर आएको छ।

दाङको घोराहिमा घरेलु मदिरा नियन्त्रण अभियान शुरु गरेका घोराही–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले मदिरा नष्ट गर्ने त्रममा कच्चा पदार्थ राखिएका ड्रमभित्र प्रयोग गरिएका सेनेटरी प्याड, पुराना चप्पल, कपडा भेटिएको बताए।

यस्तै कच्चा पदार्थसँगै राखिएको अवस्थामा अभियानकर्मीले एक ग्यालिन मानिसको पिसाबसमेत बरामद गरेको अस्थायी प्रहरी चौकी गोग्लीका इन्चार्ज विष्णुबहादुर बुढाथोकीले बताए।

घरेलु मदिराको विरुद्धमा स्थानीय रूपमा सञ्चालन भएको अभियानले छापा मार्दा केही घरमा चप्पल मिसाइएको जाँड बरामद गरेको थियो भने एक ग्यालिन मानिसको पिसाब सङ्कलन गरेर राखिएको अवस्थामा फेला पारिएको थियो। टोल विकास संस्थाका पार्वती रानाले रक्सी पार्न राखिएको जाँडको ड्रमभित्र दुई जोर चप्पलसमेत भेटिएको बताए।

‘रक्सी पार्नका लागि राखिएको जाँडमा पुराना चप्पल राखिएको रहेछ, त्यो फाल्ने क्रममा भेटियो’, उनले भने , ‘एउटा घरमा एक जर्किन मान्छेको पिसाब सङ्कलन गरेर राखिएको थियो।’ प्रहरीले त्यो पिसाब रक्सीमा मिसाउनका लागि राखिएको हुनसक्ने बताएको छ। त्यसका लागि प्रहरीले अनुसन्धान गर्ने र त्यस्तो गतिविधि गर्नेलाई कारवाही गरिने प्रहरी चौकी गोग्लीका इन्चार्ज बुढाथोकीले बताए।

वडाध्यक्ष भीमबहादुर सार्कीले घरेलु मदिराले उत्पन्न गरेको अपराधलाई न्यूनीकरण गर्न मदिरा फाल्ने अभियान शुरु भएको भन्दै यसलाई नियमितरूपमा अगाडि बढाउने जानकारी दिए। लामो समयदेखि प्रयास गर्दा पनि घरेलु मदिरा नियन्त्रण नभएपछि घोराही–४ का जनप्रतिनिधि र महिलाले नियन्त्रण अभियान शुरु गरेका हुन्।

उनीहरुले वडाका विभिन्न टोलमा पुगेर घरेलु मदिरा, मदिरा उत्पादनका कच्चा पदार्थ र उत्पादन गर्ने भाँडा नियन्त्रणमा लिएर नष्ट गरेका छन्। गाउँघरमा बनाइने मदिराले सिङ्गो गाउँमा नै अपराध बढ्न थालेपछि अभियान शुरु गरिएको उनीहरुको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्