जनताको जनवाद : मार्क्सवाद कि बहुलवाद ? (बहस)

dinesh-limbu pic
लाेकपाटी न्यूज

—दिनेश लिम्बु
दुई ठूला कम्युनिष्ट पार्टी एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी घोषणा भएको छ। यो नेकपा एसियाको तेस्रो ठूलो र दक्षिण एसियाको पहिलो शक्तिशाली कम्युनिस्ट पार्टी हो । यस अर्थमा पनि यो एकताले रक्षात्मक स्थितिमा गुज्रिरहेको विश्व कम्युनिस्ट आन्दोलनलाई कस्तो सन्देश दिन्छ ? त्यसले यसको रणनीतिक महत्व दर्शाउनेछ ।
मुल कुरा मार्क्सवादको मुलभूत सिद्वान्तको रचनात्मक प्रयोगबाट दिन सक्छ कि सक्तैन भन्ने कुराले नै एकताको रणनीतिक महत्व निर्धारण हुनेछ । ‘जबज’ र ‘एक्काइसौं शताब्दीको जनवाद’को फ्युजनको रूपमा नेकपाको ‘समाजवादउन्मूख जनताको जनवाद’ कार्य्दिशा तय गरिएको छ । यसले मार्ग्निर्देशक सिद्वान्तको रूपमा माक्र्सवाद–लेनिनवाद मानेको छ ।

(क) यसको दार्शनिक पक्षः
मार्ग्निर्देशक सिद्वान्तका रूपमा मार्क्सवाद–लेनिनवाद दस्तावेजमा लेखिए तापनि सारतः बहुलवादी दर्शन नै स्विकारिएको छ । यो बहुलवादी दर्शन ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शनको विरोधी पूँजीवादी समाजको एक अराजक र बिखण्डनकारी दार्श्निक अभिव्यक्ति हो । पूँजीवादले साम्राज्यवादी चरित्र ग्रहण गरेपछि ‘बहुलवाद’ द्वन्द्वात्मक भौतिकवादी दर्शनका विरूद्व भद्रगोल, बिखण्डनकारी दार्श्निक चिन्तनको रूपमा विकास हुँदै आएको छ ।

डेरिडाको विनिर्माणवाद र उत्तरआधुनिकतावादलाई युरो–कम्युनिज्मले आफ्नो सैद्वान्तिक र दार्श्निक सिद्वान्तका रूपमा विकास गर्यो । बिपी कैरालाले ‘सुम्निमा’ र क. मदन भण्डारीले ‘जबज’मार्फत् युरो–कम्युनिज्मलाई बहुलवादी ढाकाटोपी ओढाएर नेपाल भित्र्याएका हुन् । यसले नेपाली कम्युनिस्ट आन्दोलन, प्रजातान्त्रिक आन्दोलन, राजनीतिक, दर्शन, कला, साहित्य र संस्कृति र आम नेपालीको जीवन व्यावहारमा गहिरो जरा गाड्दै आइरहेको छ ।

कांग्रेसले बहुलवादी दर्शन मान्नु कुनै अनौठो भएन । तर, माक्र्सवाद–लेनिनवाद मान्ने तत्कालीन नेकपा (एमाले) ले पनि जबजको प्रतिपादनपछि सम्पूर्ण नेपालीको मौलिक विविधतालाई बहुलवादमा विभक्त गर्यो । राजाले पनि अधिभूतवादी दर्शनकै आधारमा नेपाली समाज र विविधताको एकमना एकताको नाममा २३८ वर्षसम्म खण्डित शासन गरे । बहुलवादले नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचान भएको विश्लेषण गरेन । आदिकालदेखि नै नेपाल विविधतायुक्त ऐतिहासिक समाज थियो । यस विविधताको विश्लेषणमा एकमनावाद र बहुलवाद दुवै मिल्छन् । तर, निष्कर्षमा दुवै गलत छन् ।

नेपाली समाजको वर्गीय शोषण, जातीय, क्षेत्रीय र लैंगिक विभेदबिरूद्व भएको दश वर्षे महान् जनयुद्ध र २०६२र०६३ को जनक्रान्ति मार्क्सवाद–लेनिनवाद–माओवादको वैचारिक आलोकमा नै सफल भएको थियो । साथै, खण्डित विविधतालाई संघीय गणतान्त्रिक समाजवादी संविधानमा लिपिवद्व गरेर राष्ट्रिय एकतामा बाँध्ने काम भएको छ । यसर्थ, मार्क्सवाद विविधतालाई एकतामा बाँध्ने एकीकृत विश्व दृष्टिकोण हो भने बहुलवाद विखण्डनवादी विश्व दृष्टिकोण हो ।

मार्क्सवादी विज्ञान विपरीत तत्वबीचको एकत्व हो कि ? विपरीत तत्वबीचको विभाजन ? ब्रम्हाण्ड, प्रकृति र प्राणी जगतमा यो नियमको अध्ययन गरौं । जस्तैः गुरूत्वाकर्षण र विकर्षणको एकत्वले सिंगो ब्रम्हाण्ड अस्तिस्वमा रहन्छ । तर, यो दुई बहुतत्वमा विभाजन भएमा ब्रम्हाण्डको आकार अर्कै हुनेछ । ज्द्दंइ मिलाउँदा एकरूपको पानी बन्छ । तर विभाजन गर्यो भने पानी बिलाउँछ । मन र शरीर मिलेर जीवन अस्तित्वमा रहन्छ । तर, विभाजन हुने बित्तिकै जीवन रहँदैन, जीवन लासमा परिवर्तन हुन्छ । कम्युनिस्ट पार्टी पनि विपरीतहरुको एकत्व हो । तर, विचारमा श्रमजीवी मजदुर वर्ग, किसान र उत्पीडित समुदायहरूको प्रतिनिधि संस्था हो ।

यसर्थ, बहुसंख्यक विविधताको राजनीतिक नेतृत्व र वैचारिक प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टी शोषक वर्गको विचारमा रूपान्तरण भयो भने मार्क्सवादी विचार र कम्युनिस्ट पार्टी अप्रसाङ्गिक हुन जान्छ ।

(ख) यसको आर्थिक आधारः

मार्क्सवादी अर्थशास्त्रले भन्छ, ‘अर्थशास्त्रको गर्भबाट राजनीतिक प्रणालीको जन्म हुन्छ ।’ समाजवादउन्मूख जनताको जनवादले कुन मोडेलको आर्थिक समृद्विको आधार तय गर्छ ? त्यसले नै सरकारको चरित्र निर्धारण गर्दछ । अमेरिकाजस्तो विश्वकै समृद्वशाली देशका काला जातिका नागरिकहरू गोरा जातिका नागरिकहरूको तुलनामा अधिक गरिब भएता पनि तेस्रो विश्वका आम नागरिकहरूभन्दा अधिक धनी छन् । तर, पनि तेस्रो विश्वका चीन, जपान र श्रीलङ्कामा बस्ने आम नागरिकहरूको तुलनामा अमेरिकन काला जातिका नागरिकहरूको ‘जीवांशा’ कमजोर छ ।

अमेरिकामा आर्थिक महासमृद्वि त छ । तर, सामाजिक न्याय र सार्वजनिक सेवाहरू (शिक्षा, स्वास्थ्य, रोजगारी र अवसरहरू) मा चरम वर्गीय शोषण र नश्लीय विभेद छ, असमानता छ । यति सम्पन्न देशका नागरिकहरूले प्रत्येक मिनेटमा आत्महत्याको प्रयास किन गर्छन् ? मानसिक रूपमा अमेरिकनहरू खुशी छैनन् । उनीहरू नयाँ विचार, नेतृत्व, आर्थिक र राजनीतिक प्रणालीको खोजीमा बर्नी स्याण्डर्सप्रति आकर्षित हुँदैछन् ।

पूर्व सोभियत समाजवादले पूँजीवादले तीन सय वर्षमा गर्न नसकेको आर्थिक, विकास चालीस वर्षमा गरेको थियो । उत्पादनका साधनहरूमाथि मजदुरहरूको पनि स्वामित्व स्थापित भएको थियो । सामाजिक न्याय, सार्वजनिक सेवा सुविधा र सापेक्षित आर्थिक समानता पनि थियो । कम्युनिस्ट सरकारको आर्थिक–राजनीतिक विज्ञान र प्रविधिगत विकासप्रति रसियनहरूको अभूतपूर्व योगदान र गौरव थियो । जसले गर्दा हिटलरको नाजीवाद र मुसोलोनीको फासीवाद खरानी भएको थियो । तथापि, यति लोकप्रिय समाजवाद ढल्दै गर्दा समाजवादको रक्षार्थ सोभियत जनताहरू किन सडकमा उत्रिएनन् ?

चीनमा माओको निधनपछि देंङ स्याओपिङको खुल्ला बजार अर्थतन्त्र दक्षिणपन्थी पूँजीवाद हो वा समाजवाद भन्नेमा हामी विभाजित छौं । यद्यपि, चिनियाँ खुल्ला बजार अर्थतन्त्रले करोडौं गरिब जनतालाई मध्यम वर्गमा रूपान्तरण गरेको छ । चीन, रूस, भियतनाम, क्युवा र ह्युगो चावेजले अभ्यास गरेको समाजवादी अर्थतन्त्रको अनुभवहरू नेपालको विशिष्टतामा नेकपाले कसरी समीक्षात्मक प्रयोग गर्छ ? नेकपाको समाजवादउन्मूख जनताको जनवाद भनेको के हो ? प्रजातान्त्रिक समाजवादउन्मूख संसदीय जनवाद हो कि ? दलाल संसदीय समाजवादउन्मूख जनवाद ? वा वैज्ञानिक समाजवाद उन्मुख जनताको जनवाद ? यसले कुन प्रकारको आर्थिक उत्पादन सम्बन्ध र बितरण प्रणाली अवलम्बन गर्दछ ?

जबज र एक्काइशौं शताब्दीको जनवाद भन्छ, ‘सामन्ती तथा नवउदारवादी आर्थिक नीतिको मुलोच्छेदन गरी, आत्मनिर्भर राष्ट्रिय औद्योगिक पूँजीवादको विकास, यसका लागि राष्ट्रिय पूँजीको संरक्षण, राष्ट्रिय पूँजीको विकास र राष्ट्रिय पूँजीको परिचालनमार्फत् समाजवादमा संक्रमण । यो पूँजीको विकासबाट आउने समृद्वि कस्तो हो ? पूँजी विकासको बहस त विश्वव्यापी चल्दैछ । जनताको जनवादले यसलाई कसरी परिभाषित गर्छ ?

पूँजी विकासको प्रक्रियामा किसान, मजदुर, भूमिहीन, उत्पीडित समुदाय र हाम्रो आदिम कुटुम्भ राउटे समुदायलाई पनि सँगसँगै हिंडाउन सकेन भने त्यसले घनश्याम भुसालले भनेजस्तो कि ‘सामाजिक फासिवाद’ ल्याउँछ कि ‘क्रोनी क्यापिटलिज्म’ झनै बलशाली हुनेछ । यसले मार्क्सवादी समाजवादको वित्तीय आधार निर्माण गर्दैन । यो मोडेलको विकास त हामीसँग आजै काफी छ । हरेक देशको आ–आफ्नै विशिष्टता हुन्छ । नेपाली विशेषताको समाजवाद अन्य देशहरूले प्रयोग गरेको समाजवादसँग नमिल्न सक्छ । तर, मार्क्सवादको सार्वभौम सिद्वान्तको परित्याग गरी निर्माण गरिने नक्कली समाजवाद बहुसंख्यक श्रमजीवी र मेहेनतकश जनताको समाजवाद हुँदैन, यो त दलाल राजनीतिज्ञ, कर्मचारीतन्त्र, सीमित उच्च घराना एकाधिकारी व्यापारीहरूको प्रजातान्त्रिक समाजवाद हुन जान्छ ।

जे विगतमा भोग्यौं । अब यो ७५ प्रतिशतको हातबाट खोसेर २५ प्रतिशतको हातमा प्राकृतिक संसाधन र नाफा थुपार्ने नवउदारवादी अर्थनीतिलाई एउटा खोपीमा फालिसक्यौं । तर, फेरि समाजवादको आवरणमा फर्किन खोज्दैछ । अहिले नेकपाको अन्तरपार्टी बहस यसैमा केन्द्रित गर्नुपर्दछ । नेपाली कांग्रेसको त प्राण नै नवउदारवादले थेगेको छ । उसले ‘लोकतान्त्रिक समाजवाद’को नक्कली नामबाट उदारीकरणलाई पुनर्जीवन दिएको छ । दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकारको प्राथमिकता दलाल नोकरशाही पूँजीवाद (नवउदारवाद) को अन्त्य गरी राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रकोे विकास गर्नु हो ।

सार्वजनिक उद्योगले सरकार, मजदुर, किसान, श्रमजीवीहरूको स्वामित्वमा आधारभूत उपभोग्य वस्तु उत्पादन गर्नुपर्छ । बाँकी निजी क्षेत्रले (क) पहिलो चरणः औद्योगिक उत्पादनका लागि पूर्वाधार बिस्तार र उर्जा क्षेत्रको विकासमा लगानी गर्न सक्छ । क्रान्तिकारी भूमिसुधार वा भूमि–भोगचलन सम्बन्धी नीति बनाउनुपर्छ । जल, जमिन, जङ्गल र खानी राज्यको सम्पत्ति घोषणा गर्नुपर्छ । कृषिको व्यावसायीकरण र यान्त्रिकीकरण गर्नुपर्छ । कृषि सहकारी र उपभोक्ता सहकारी सम्बन्धी स्पष्ट नीति बनाउनु पर्छ । विश्व बैंक, अन्तर्रा्ष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंकभन्दा हाम्रो निजी वित्तीय बैंकहरूलाई उत्पादनशील क्षेत्र र पूर्वाधार बिस्तारमा प्रयोग गर्नसक्ने ब्यक्ति, व्यावसायिक संस्थालाई ऋण उपलब्ध गराउन सहज वातावरण बनाउनु पर्छ । प्रत्येक गाउँपालिका र वडामा बचत बैंक र सहकारी सेवा बिस्तारको लागि शान्ति सुरक्षा, सडक, बिजुली, सञ्चार सेवा आदि पूर्वाधार बिस्तार गर्नुपर्छ । यी योजना पूरा भएमा नेपाल उपभोग्य वस्तु र केही कच्चा पदार्थमा आत्मनिर्भर बन्नेछ । औद्योगिक उत्पादन र उत्पादकत्व वृद्वि हुनेछ, निर्यात बढ्नेछ, व्यापार घाटा केही घट्ने छ, श्रमको उल्लेखनीय बजार बिस्तार हुनेछ, जसले बचत र लगानी थप बढ्ने छ । (ख) दोस्रो चरणः हामी पूँजीगत वस्तु उत्पादनमा लाग्नुपर्ने छ । आपूर्तिले अन्तर्रा्ष्ट्रिय बजारको माग गरेपछि भारतीय रेल र चिनियाँ रेलको कनेक्टिभिटी नेपालको लागि मालामाल बन्ने छ । नेपाल औद्योगिक क्रान्तिमा प्रवेश गर्ने छ । (ग) तेस्रो चरणः विज्ञान, प्रविधि, अन्तरीक्ष, आणविक, परमाणु, प्रतिरक्षा प्रणाली, बायोटेक्नोलोजी, स्नायु प्रविधि, ट्रोन प्रविधि, कृतिम बौद्विक मानव यन्त्र प्रविधि आदिमा फड्को मारेर विकसित समाजवादी देशको सूचिमा पुग्नेछौं र समृद्विसँगै ‘ह्याप्पी इन्डेक्स’ चुनौतीको रूपमा थपिएको हुनेछ ।

(ग) कम्युनिस्ट पार्टी (नेकपा)

वर्गीय विश्व जगतमा निवर्गीय समाज हुन्छ कि हुँदैन ? निवर्गीय समाज र मानिस हुँदैन भने वर्गीय शोषण, जातीय, क्षेत्रीय र लैंगिक विभेद र उत्पीडन पनि नहुँदो हो । त्यस्तो होइन, जबसम्म राज्य र सरकारको अस्तित्व रहन्छ, तबसम्म समाजको चरित्र वर्गीय हुन्छ । वर्गसंघर्षमा राजनीतिक नेतृत्व र वैचारिक प्रतिनिधित्व गर्ने क्रममा नै भिन्न–भिन्नै राजनीतिक पार्टीको विकास हुने गर्दछ ।

कम्युनिस्ट पार्टी श्रमजीवी वर्ग, किसान वर्ग, जातीय, क्षेत्रीय र लंैगिक विभेदमा परेका समुदायको मुक्तिका लागि स्थापित पार्टी हो । यद्यपि, मार्क्सले त कम्युनिष्टहरूलाई अलग कम्युनिष्ट नबनाउन र मजदुरको पार्टीमा संगठित भएर काम गर्न भन्नुभयो । लेनिनले पनि अप्रील थेसिसमार्फत् अरू नक्कली समाजवादीहरूभन्दा पृथक देखिन कम्युनिस्टको नाम प्रस्ताव गरेका थिए । त्यसपछि संसारका मजदुर पार्टीहरूले कम्युनिष्ट पार्टी लेख्न थालेका हुन् ।

नेपालमा पुष्पलाल श्रेष्ठले कम्युनिष्ट पार्टी स्थापना गर्नुभयो । त्यसपछि पुनर्ग्ठितहरूले पनि कोष्ठमा भिन्न रङको ‘फुर्का’ थपेर कम्युनिष्ट पार्टी बनाउने प्रथा सुरू भयो । अबको हाम्रो बहस कस्तो कम्युनिष्ट पार्टी बनाउने ? कम्युनिस्ट चरित्र के हो ? सामन्त, पूँजीपति र कम्युनिस्टबीचको भेदहरू के–के हुन् ? के–के गर्दा कम्युनिस्ट भइन्छ, के गर्दा भइँदैन ? कतै हामीले नाम कम्युनिस्ट गरेर काम सामन्ती वा पूँजीवादी त गरेका छैनौं ? यसबारे गम्भीर बहस आवश्यक छ ।

माओले अर्धसामन्ती र अर्धऔपनिवेशिक देशमा क्रान्तिको नयाँ सिद्धान्त प्रतिपादन गर्नुभयो । अन्तरविरोधको सिद्धान्त आविश्कार गर्नुभयो, निरन्तर क्रान्ति र सर्वहारा जनवादलाई स्थापित गर्नुभयो । महान् सर्वहारा सांस्कृतिक क्रान्तिमार्फत् समाजवादको रक्षा र सुदृढीकरण गर्नुभयो । तर, आज हामीले एकतामा माओका योगदानहरु भुलेका छौं, माओवादको वैचारिक आलोक निषेध गरेका छौं । के यसले वास्तविक कम्युनिस्ट पार्टी बन्ला ? गम्भीर वैचारिक बहस आवश्यक छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्