काठमाडौं, २ जेठ। राजधानीमा जारी पहिलो एसिया कप ह्विलचियर ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा आज पनि नेपाल पराजित भएको छ। योसहित नेपालले लगातार दोस्रो हार व्यहोरेको हो।
बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल बंगलादेशसित ८ विकेटले पराजित भएकोछ। नेपालले दिएको १४९ रनको चुनौती बंगलादेशले १८ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा र्गयो। बंगलादेशको जितमा मोहमद रिपोन उडिनले ५० रन बनाए।
नेपालका कप्तान दिगमसिंह चेम्जोङ र सुपर राईले १र१ विकेट लिए। यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर ३ बलमा ‘अलआउट’ हुँदै १ सय ४८ रन बनाएको थियो। होमनाथ राईले ३६ तथा अलराउन्डर कप्तान चेम्जोङले ३५ रनको योगदान दिएका थिए। यो हारसँगै अंकविहीन नेपालको फाइनल पुग्ने सम्भावना लगभग सकिएको छ। पहिलो खेलमा नेपालले बुधबार भारतसित ६ विकेटको हार व्यहोरेको थियो।
लिग चरणको अन्तिम खेलमा नेपालले शुक्रबार पाकिस्तानसित खेल्नेछ। चार टोली सहभागी प्रतियोगितामा अंकतालिकाका शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल खेल्नेछन्।



लाेकपाटी न्यूज

