काठमाडौं, २९ वैशाख। इन्डियन प्रिमियर लिग (आइपिएल) को बाह्रौं सिजनको फाइनल आज आइतबार राति हुँदैछ।
हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका पौने ८ बजे सुरू हुने खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स भिड्दै छन्।
महेन्द्रसिंह धोनीले सम्हालेको चेन्नई र रोहित शर्माको कप्तानीमा रहेको मुम्बईबीच आइतबारको खेलमा एउटा साझा सपना हुनेछ, उपाधि जित्ने त्यो पनि चौथो पटक। सन् २००८ मा सुरू भएको आइपिएलमा यी दुई मात्र यस्ता टोली हुन् जसले समान तीन \तीन पटक उपाधि उचालेका छन्।
यो बीचमा धोनीको चेन्नई दुई वर्ष प्रतिबन्धमा पनि परेको थियो। चेन्नई आइपिएलको यस्तो टोली हो जो खेलेका १० सिजनमध्ये आठ पटक फाइनलमा र हरेक पटक नकआउट चरणमा पुगेको छ। तर चेन्नईले यसअघिका सातमध्ये ४ फाइनलमा हार ब्यहोरेको छ।
त्योमध्ये दुई पटक मुम्बईसँग पराजित भएको छ। मुम्बई भने आफ्नो पहिलो फाइनल चेन्नईसँग हारेपछि कुनै पनि फाइनल हारेको छैन। यो सिजन पनि चेन्नई मुम्बईसँग कमजोर देखिएको छ। लिगका दुई खेल र घरेलु मैदानमै भएको पहिलो क्वालिफायरमा चेन्नई मुम्बईसँग सजिलै पराजित भएको छ।
तर क्वालिफायरमा हारको नजिक भएका बेला प्रशिक्षक स्टेफन फ्लेमिङले भनेजस्तो यदि उसले आइतबार फाइनल जित्यो भने त्यो तीन खेलको हारको भरपाई हुनेछ। फाइनल जितेर पहिलाका हारको भरपाई गर्ने भने चेन्नईलाई सहज छैन। आइतबारको खेलमा फल्डिङ र खेलाडीको फिटनेस पनि महत्वपूर्ण हुनेछ।



लाेकपाटी न्यूज

