काठमाडौं, २७ वैशाख। लोकसेवा खुल्ने निश्चित भएको छ। आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमध्ये ११ हजार ४ सय ९२ पदमा विज्ञापन गर्ने निश्चित भएको हो।
बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती पदमा पदपूर्तिको आग्रह गर्दै लोकसेवा आयोगमा लिखित पत्र पठाएपछि आयोगलाई विज्ञापन गर्ने बाटो खुला भएको हो। हाल ७ सय ५३ वटा स्थानीय तहमा झन्डै १६ हजार कर्मचारी रिक्त छ ।
लोकसेवा आयोगले विज्ञापन गर्दा स्थानीय तहकै लागि भन्दै विज्ञापन गर्ने छ र उत्तीर्ण भएका सबै स्थानीय तहकै कर्मचारीका रूपमा रूपान्तरण हुने आयोगले जनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश १ का १ सय ३७ स्थानीय तहमध्ये ९४ का लागि २ हजार ५ सय ५ पदमा विज्ञापन हुनेछ।
यसैगरी, प्रदेश २ का १ सय ३६ स्थानीय तहमध्ये ५५ वटा स्थानीय तहका लागि १ हजार ७ सय ४९, प्रदेश ३ स्थित १ सय १९ स्थानीय तहमध्ये ६२ तहका लागि १ हजार ५ सय २७ पदमा विज्ञापन हुने छ।
त्यसैगरी, गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६२ तहका लागि १ हजार ६ सय, प्रदेश ५ का १ सय ९ स्थानीय तहमध्ये ७३ तहका लागि १ हजार ८ सय ७२, कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ३५ तहका लागि ८ सय ५५ र सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये ५६ वटाका लागि १ हजार ३ सय ८४ पदमा विज्ञापन हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।



लाेकपाटी न्यूज

