काठमाडौं, २६ वैशाख। काठमाडौं महानगरपालिका ८ पशुपतिस्थित दाउरा डिपोबाट एक जना अवैध लागूऔषध गाँजासहित पक्राउ परेका छन्।
आधा किलो गाँजासहित बुधबार साँझ प्रहरीले ३९ वर्षीय टेकनाथ आचार्यलाई पक्राउ गरेको हो। पशुपति बस्ने कास्की पोखरा घर भएका आचार्यलाई महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
यस्तै,चोरी भएको बा.७८ प ४८२० नम्बरको मोटरसाइकलसहित एक जना गोकर्णेश्वर नगरपालिका ९ आरुबारीबाट पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले ३ जना सवार उक्त मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा बिहीबार चालक काठमाडौं बसुन्धारा बस्ने दोलखा देउराली गाउँपालिका ८ का २२ वर्षीय मोहनलाल श्रेष्ठ पक्राउ परेका हुन्।
अन्य २ जनाले चेकिङमा रहेका प्रहरी कर्मचारीलाई हेल्मेट प्रहार गरी फरार भएका प्रहरीले जनाएको छ। फरार २ जनाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।उता,मकवानपुरबाट सुन जस्तो देखिने पहेंलो धातु सहित एक किशोर पक्राउ परेका छन्।
भोजपुर खडानन्द नगरपालिका ४ भोजपुर बस्ने २९ वर्षीय किशोर ल्वागुन विश्कर्मालाई हेटौँडा उपमहानगरपालिका १५ स्थित सडकबाट १ हजार ६ सय ४९.९६ ग्राम धातुसहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको ना.८ ख ३७९२ नम्बरको बस जाँच गर्ने क्रममा उक्त परिमाणको धातु सहित विश्वकर्मालाई पक्राउ गरेको हो।यस्तै
बाँकेको जानकी गाउँपालिका ६ गानापुरबाट कालिकोट रास्कोट नगरपालिका ६ बस्ने ४२ वर्षीय भरत बहादुर बम र ३० वर्षीय सत्य बहादुर शाहीलाई बिस्फोटक पदार्थसहित पक्राउ गरिएको छ। प्रेसर कुकर बम १ थान, सोमा प्रयोग हुने फ्युज तार र ब्याट्री सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरुलाई जाचँ गर्ने क्रममा उक्त बिस्फोटक पदार्थसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।



लाेकपाटी न्यूज

