३७६४ पक्राउ : लागूऔषध नियन्त्रणमा ठूलो सफलता

Sarbendra-khanal
लाेकपाटी न्यूज

काठमाडौं, २३ वैशाख। पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ का ३९ वर्षीय उमेश सहनीलाई अवैध लागूऔषध गाँजा करीब ७० केजीसहित वैशाख १० गते उनकै घरबाट प्रहरीले पक्राउ गर्‍यो। काठमाडौं कोटेश्वर बस्ने सिन्धुली मरिण गाउँपालिका–४ का ३९ वर्षीय देवकुमार घिसिङ र सिन्धुली कमलामाई नगरपालिका–२ का ३० वर्षीय पदमबहादुर श्रेष्ठलाई गाँजा ५० किलोसहित वैशाख ३ गते लाजिम्पाटबाट प्रहरीले पक्राउ गर्‍यो।

रुपन्देही, बुटवल उपमहानगरपालिका–९ बसपार्कबाट करीब ३० किलो अवैध लागूऔषध चरेशसहित मकवानपुर थाहा नगरपालिका–७ बस्ने ३६ वर्षीय राजकुमार स्याङ्तान, ३७ वर्षीय ईन्द्रमान तामाङ र १९ वर्षीय शंकर तामाङ फागुन ५ गते पक्राउ परे। सहनी, घिसिङ, श्रेष्ठ, स्याङ्तान र तामाङ जस्तै लागूऔषध दुव्र्यसन र अवैध कारोबारमा संलग्न व्यक्तिहरु पछिल्लो समय ठूलो संख्यामा पक्राउ परेका छन्।

अवैध लागूऔषध कारोबारमा संलग्न अभियुक्त पक्राउ संख्या बढ्नुको कारण समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी सक्रियता र नागरिकसँगको सहकार्य नै प्रमुख हो। कार्यक्रम लागू भएपछि लागूऔषध कारोबार नियन्त्रणमा उल्लेख्य सफलता मिलेको छ। गत ८ महिनाको अवधिमा लागूऔषध प्रयोगकर्ता, कारोवारी तथा ओसारपसारमा संलग्न ३ हजार ७ सय ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये ३ हजार ५ सय ७७ जना पुरुष र १ सय ८७ जना महिला रहेका छन्। कूल पक्राउमध्ये १ सय २९ जना विदेशी नागरिक छन्। सो अवधिमा २ हजार ४ सय ४५ मुद्धा दर्ता भएका छन्।

सो अवधिमा ४ हजार ६ सय ३७ केजी ६ सय २४ ग्राम गाँजा, २ हजार ६७ केजी चरेश, ८ केजी २२ ग्राम हेरोइन, ५ केजी ७ सय ग्राम अफिम प्रहरीले बरामद गरेको छ। साइकोट्रोपिक्स औषधी लागूऔषध अन्तर्गत १ लाख ८० हजार २ सय १३ ट्याब्लेट, १ लाख ४७ हजार ९ सय ७२ एम्पुल, २ हजार ५ सय ९१ कोरेक्स, १ हजार ४ सय २२ डाईलेक्स, ७ सय ३५ एम्फेटामाईन, २ सय ७८ फेन्सिडेल, ८१ पोल्याण्ड,३१ प्रोजिन, १८ डिआर रेड्डिस, ८५ पिस सिरिन्ज, ५ कोडिन, ६ डिकफ, १ सय ४० ऐटेन, २ सय २० ग्राम मेटाफेटामाईन, २ सय ९९ अनरेक्स, ५६ लाब्रोटी, २२ प्रोमिथाईजेन र २ सय १० केजी भाङ समेत प्रहरीले बरामद गरेको छ।

प्रविधिको विकासले विश्व एक गाउँ बनेको छ। संगठित एवं अन्तर्राष्ट्रिय गिरोहको सञ्जालले लागूऔषध कारोबार नियन्त्रणमा समस्या छ। विकास र शान्तिमा नकारात्मक असर पार्ने र विकृति फैलाउने यस कार्यलाई रोकी दुव्र्यसनमुक्त समाज निर्माण गर्नु चुनौती थपिएको छ। यस समस्या र निराकरण सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी भन्छन्, “लागूऔषध दूव्र्यसन, यसको कारोबार, ओसारपसार, अन्तर्राष्ट्रिय समस्याको रुपमा देखा परेको छ।’

उनी थप्छन्, ‘यसलाई निराकरण गर्न नेपाल प्रहरीले विभिन्न उपाय अपनाउँदै आएको छ। यस क्रममा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा सेवन न्यूनिकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। समुदायसँग निकट भएपछि कारोबारको सूचना आइरहेकाले कारोबारीलाई स्रोतमै समात्न सफल भएका छौं।”

साथै प्रहरीले चुनौति सामना गर्दै लागूऔषध कारोबार नियन्त्रणका लागि नेपाल सरकारले लागूऔषध नियन्त्रण रणनीति २०६६ लागू गरेको छ। गृह मन्त्रालयले गृह प्रशासन सुधार योजना २०७४ अन्तर्गत बुँदा नम्बर ७३ देखि ७६ सम्म लागूऔषध सम्बन्धी नीति तथा योजना समावेश गर्नुका साथै लागूऔषध निषेध र मदिरा नियन्त्रण अभियान २०७५ शुरु गरेको छ।

विद्यमान कानुनलाई अभियानकै रुपमा लिएर नेपाल प्रहरी लागूऔषध कारोबार, प्रयोग र दुव्र्यसनी नियन्त्रण गर्न सक्रिय भई लागेको छ। प्रहरी वरिष्ठ उपरीक्षक सुवेदी भन्छन्, “प्रहरीको विशेष अभियान र कानुन कार्यान्वयनलाई अझ सशक्त बनाउने प्रहरी महानिरीक्षकज्यूको निर्देशनले यस्ता क्रियाकलापमा संलग्न व्यक्तिहरु पक्राउ र ठूलो मात्रामा लागूऔषध बरामद भइरहेको छ।”

लागूऔषधको ओसारपसार, खुल्ला सीमाना र लागूऔषधको सहज प्राप्तिको कारण कारोबार बढ्नु प्रमुख कारण हो। लागूऔषध व्यवसाय र प्रयोग हुने ठाउँहरु पहिचान गरी प्रहरीले ती क्षेत्रमा कारवाही तीव्र पारेको छ। ग्रामीण क्षेत्रमा हुने गाँजा र अफिम खेतीको भरपर्दो अनुगमन प्रणाली नहुनु, खर्चिलो सूचना व्यवस्थापन विधि र बजेटको सीमितता नै नियन्त्रणका चुनौती हुन्।

चुनौति र समाधानका सम्बन्धमा लागूऔषध नियन्त्रण व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाई भन्छन्, “गाँजा चरेश पहाडी भागमा आफै उम्रन्छन्। खुल्ला सीमानाको कारण तस्करले कारोवार गर्ने विभिन्न उपाय अपनाउँछन्। यस्ता चुनौति समाधान गर्न ब्यूरोले सीमित साधनस्रोत र जनशक्तिको उच्चतम प्रयोग गरी काम गर्दै आएको छ। अन्तर्राष्ट्रिय सन्धी सम्झौताको परिधिमा रहेर राष्ट्रिय, अन्तर्राष्ट्रिय निकायहरुसँग समन्वय गरी काम भइरहेको छ। गोष्ठी सेमिनारबाट दक्षता हासिल गर्दै दक्ष कुकुर समेतको प्रयोगबाट अनुसन्धानमा सफलता प्राप्त हुँदै आएको छ।”

गलत तरिकाबाट अर्थोपार्जन गर्ने उद्धेश्यले लागूऔषध ओसारपसार तथा गैरकानुनी कार्य भइरहेको देखिन्छ। लागूऔषधले पार्ने असरका बारेमा परिवार, समाज तथा विद्यालयबाट उचित मार्गदर्शनको अभाव र साथीहरुको लहैलहैमा लागेर लागूऔषधको दुव्र्यसनीमा फसेको पाइन्छ। यस्ता विविध कारणलाई नियन्त्रण गर्न एवं सभ्य, सुसंस्कृत समाज निर्माण गर्न नेपाल प्रहरीले देशभरिनै समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत टोलटोलमा समूह, उपसमूह खडा गरी सचेतनामूलक कार्यक्रम गर्दै आएको छ।

गैरकानूनी काम गरेमा कारवाहीको साथै आर्थिक प्रलोभनमा परी वा अन्य जुनसुकै कारणबाट पनि यस्ता काम गर्न नहुने सन्देश दिन सचेतनामुलक कार्यक्रम गर्दै आएको छ। यसबाट लागूऔषध अवैध कारोवार तथा सेवन रोकथाम गर्न थप सफलता मिल्ने अपेक्षा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्