काठमाडौं, २३ वैशाख। भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेटको पहिलो क्वालिफायर समीकरण पूरा भएको छ। आइतबार राति सम्पन्न खेलमा मुम्बईले कोलकत्तालाई पराजित गरेसँगै मुम्बई आई पी एल क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ।
आइतबार राती सम्पन्न खेलमा कोलकता नाइट राइडर्सलाई ९ विकेटले पराजित गरेपछि शीर्ष स्थानमा रहँदै मुम्बई क्वालिफायरमा प्रवेश गरेको हो। मुम्बईले क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग मंगलबार खेल्ने छ। मुम्बई विजयी भएसँगै सन्दीप लामिछाने सम्मिलित दिल्ली भने तेस्रो स्थानमा झरेको छ। यो सँगै दिल्लीले बुधबार एलिमिनिटर खेल सनराइजर्स हैदरावादसँग खेल्ने छ।
समान १२ अंक भएपछि नेट रन रेटमा कोलकतालाई पछि पार्दै हैदरावाद प्ले अफमा पुगेको छ। हैदरावादले दिल्लीसँग एलिमिनिटर खेल्ने छ । एलिमिनिटरको विजेताले चेन्नई र मुम्बईसँगको खेलमा पराजित हुने टोलीसँग फाईनलको लागि प्रतिस्पर्धा गर्ने छ ।
आइतबारको दोस्रो खेलमा कोलकत्ताले दिएको १ सय ३४ रनको लक्ष्य मुम्बईले १६.१ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो। त्यस अघि मुम्बईको घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो।
आइतबार नै भएको पहिलो खेलमा पञ्जाबसँग ६ विकेटले पराजित हुँदै चेन्नई अङ्क तालिकाको दोस्रो स्थानमा झरेको हो। चेन्नईले समान खेल र नतिजाका साथ दोस्रो स्थानमा रहेपछि क्वालिफायर पक्का भएको हो।
दिल्ली क्यापिटल्सले १४ खेलमा ९ मा जित र ५ मा हार सहित १८ अंक भएपनि नेट रन रेटका कारण तेस्रो स्थानमा पुगेको हो। १४ खेलमा ६ मा जित र ८ मा हारका साथ चौथो स्थानमा रहदै हैदरावादले प्ले अफमा स्थान बनाउदै दिल्लीसँग एलिमिनिटर पक्का गरेको छ।



लाेकपाटी न्यूज

