नेपाललाई विश्वसामू चिनाउन खेलको ठूलो भूमिका छ : रेनु दाहाल

karate-ctw4
लाेकपाटी न्यूज

चितवन, २१ वैशाख। जापान गुजेरियो कराते डो केन्वाकाई चितवनको आयोजनामा कराते प्रतियोगिता सम्पन्न भएको छ।

शनिवार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मंगलपुरमा आयोजित फाइनल खेलका विजयीहरुलाई मेडल तथा सम्मानपत्र प्रदान गर्दै स्वस्थ समाज निर्माणमा खेल क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताईन्।

खेलको माध्यमबाट राष्ट्रको नाम विश्व भरी पुर्‍याउन खेल क्षेत्रको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै प्रमुख दाहालले खेलाडीहरुको वृद्धि विकास र उपयूक्त खेल वातावरण बनाउन राज्यले विशेष लगानी गर्नुपर्ने बताइन्।सो अवसरमा प्रमुख दाहालले खेलले घर, समाज हुँदै राष्ट्रलाई नै अनुशासन, सदाचार र उच्च आत्मबल प्रदान गर्न सक्ने बताउँदै यसको विकास र विस्तारमा सबैको सामुहिक सक्रियता रहनुपर्ने बताइन्।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी प्रमुख दाहालले भरतपुर महानगरपालिकाले खेल क्षेत्रको विकास र खेलाडीहरुको मनोबल उच्चराख्न सधैँ लागिपरेको बताएकी थिइन्। उनले भरतपुरलाई खेल क्षेत्रको हबको रूपमा विकास गर्न योजनावद्ध ढंगले लागि परेको बताइन्।

दाहालले भरतपुर महानगरपालिका वडा नम्बर १५ मा २० विगाहा जमिनमा एकेडेमी सहितको अन्तराष्ट्रिय स्तरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउन्डेसनसँगको सहकार्यमा निर्माण गरिरहेको बताईन्।

उनले यसलाई समयमै सम्पन्न गर्न सम्पूर्ण चितवनवासीको सक्रिय सहयोग र सक्रियताको अपेक्षा भरतपुर महानगरपालिकाले गरेकोे बताईन्। प्रमुख दाहालले जापान गोजुरियो कराते डो केन्वाई प्रतियोगितामा सहभागी भइ विजयी भएका खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गर्दै विजयी खेलाडीहरुलाई बधाई दिँदै सुखद खेल जीवनको शूभकामना दिईन्।

खेलमा आआफ्नै नियम र मर्यादा हुने भन्दै उनले त्यसलाई सधैँ आत्मासाथ गरेर अगाडि बढ्न सम्पूर्ण सहभागी खेलाडीहरुलाई आग्रह गरिन्। कार्यक्रममा प्रदश नम्बर ३ सामाजिक विकास तथा खेलकुद मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले खेलले राष्ट्रको गरिमा र गौरव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै खेलाडीहरुलाई इमानदार भएर खेलक्षेत्रमा आफ्नो क्षमता प्रस्तुत गर्न आग्रह गरे।

कार्यक्रमका संयोजक पुष्प आचार्यले खेल १९ गतेदेखि २१ सम्म चलेको र यस खेलमा विजयी समूह तथा खेलाडीहरूलाई ६५ वटा गोल्ड मेडल, ६५ वटा सिल्भर मेडल र ११० कास्यपदक प्रदान गरिएको बताए ।