रुपाको राष्ट्रपति रनिङ शील्ड विश्व शान्तिलाई

Volleyball
लाेकपाटी न्यूज

पोखरा । रुपा गाउँपालिकाको आयोजनामा भएको गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि विश्व शान्ति मा.वि, देउरालीले जितेको छ। भलिबल प्रतियोगिताको फाइनलमा विश्व शान्तिले चन्द्रप्रभा मा.वि भीरचोकलाई पराजित गरेको हाे।

प्रतियोगितामा रुपाज्योति मा.वि तेस्रो भएको छ । भलिबलसँगै विश्व शान्तिले ४०० मिटर छात्र दौडमा पनि पहिलो स्थान ओगटेको थियो । सो इभेन्टमा विश्व शान्तिका प्रवेश विक पहिलो भएका हुन् । सोही समूहमा पृथ्वीरुपा मा.विका अञ्जित थापा र जनता माविका अरविन कुमाल व्रmमशः दोस्रो र तेस्रो भए ।

यस्तै गरी २०० मिटर छात्रा दौडमा कालिका माविकी माया विक, जटेश्वर मा.विकी सीमा गोदार र रुपाज्योति माविकी सदिक्षा सुवेदी व्रmमशः पहिलो, दोस्रो र तेस्रो भए । आधारभूत तहको १०० मिटर दौडमा ज्योतिप्रकाश आविका ममिन गुल्जार मिया, कालिका माविका सन्देश विक र जनता मा.विका सुयोग कुमाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । भलिबल प्रतियोगितामा रुपा गाउँपालिकाका १० विद्यालयको सहभागिता थियो ।

समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सामुदायिक विद्यालयमा खेलसँगै शैक्षिक गुणस्तर वृद्धिका लागि अनेकौँ प्रयासहरु गरिएको बताए । उनले खेलमा जस्तै शैक्षिक क्षेत्रमा पनि स्वस्थ प्रतिस्पर्धाको भावना लिएर अघि बढ्न विद्यार्थीहरुलाई अध्यक्ष ओझाले आग्रह गरे ।

विजेतालाई गाउँपालिकाका अध्यक्ष नवराज ओझा, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल, शिक्षा शाखा प्रमुख भोजराज न्यौपानेलगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः भलिबलतर्फ १५, १० र ५ तथा दौडतर्फ ३, २ र १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।