काठमाडौं। फिल्म क्षेत्रलाई हल्लाको क्षेत्र भनिन्छ। यहाँ सजिलै विक्ने भनेको हल्ला हो। यस क्षेत्रमा सक्रिय जो कोही हल्ला चलाउन र भ्रम फिजाउन हिचकिचाउँदैनन्।
केही समययता मिडियाले बढी स्थान दिने र चासो राख्ने विषय भनेको कलाकारको पारिश्रमिक हो। पारिश्रमिकको आधारमा कलाकारको लोकप्रियता मापन गर्ने गरिन्छ। यसकारण पनि कलाकारहरु महँगो पारिश्रमिक बताएर आफूलाई शक्तिशाली प्रमाणित गर्न हानाथाप गर्छन्।
अहिले चलेका अभिनेताले ५० लाख र अभिनेत्रीले २० लाखसम्म पारिश्रमिक डिमाण्ड गर्न र बुझ्न थालेको चर्चा छ। तर, यसलाई सत्य मान्ने कुनै आधार छैन। एग्रिमेन्टमा पारिश्रमिक एउटा हुन्छ अनि मिडियालाई बताउनका लागि कलाकारले अर्कै रेट तयार पारेका हुन्छन्।
प्रायः कलाकारहरु हातमा परेको वास्तविक पारिश्रमिकभन्दा ३/४ गुणा बढाएर मिडियालाई बताउने गरेका छन्। किनकि, यहाँ कोही अरुभन्दा आफूलाई कमजोर देखाउन चाहँदैनन्। कति त हल्लै हल्लाले पनि महँगा भइरहेका छन्।
चाँडै नाम र दाम कमाउने उद्देश्य बोकेर आउने नयाँ निर्माताहरु मिडियामा आएको समाचारलाई सत्य मान्दै कलाकारलाई जति पनि पारिश्रमिक दिन तयार हुन्छन्। २ लाख हात पर्न नसकिरहेको अवस्थामा भ्रामक समाचार फैलाएको भरमा वास्तवमै २० लाख अफर हुँदा को कलाकार नलोभियोस् ?

एउटा फिल्म बक्सअफिसमा राम्रो चल्यो भने त झन् अरु के चाहियो। आधा करोड नै डिमाण्ड गर्न थाल्छन्। अपवाद बाहेक प्रायः नेपाली कलाकारमा आफूले कति पारिश्रमिक ‘डिजर्भ’ गर्छु भन्ने ज्ञान र चेत छैन।
अहिले चलेका अभिनेताले ५० लाख र अभिनेत्रीले २० लाखभन्दा बढी डिमाण्ड गर्न थालेपछि निरन्तर फिल्म निर्माण गरिरहेका फिल्मकर्मीहरुले नेपाली कलाकारमा मानवता हराएको आरोप लगाउन लागेका छन्। कलाकारमा मात्र ६०र७० लाख खर्च गर्नुपर्दा दर्शकले राम्रो फिल्म हेर्न नपाएको पनि कतिपयको टिप्पणी छ। तर, नेपाली कलाकारलाई यसको कुनै मतलब छैन।
कलाकारको पारिश्रमिककै कारण फिल्म निर्माण महँगो भइरहेको बहस चलिरहेको अवस्थामा अभिनेत्री आँचल शर्मा पारिश्रमिकमा होडबाजी गर्नु राम्रो नभएको तर्क राख्छिन्। केही दिनयता यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दाल भात तरकारी’को प्रचारमा व्यस्त उनी देखासिखीको भरमा कलाकारहरुले पारिश्रमिक वृद्धि गरिरहेको बताउँछिन्।
२ लाख लिएर १०/१५ लाखको डङ्का फुक्ने कलाकारहरु पनि आफूले धेरै देखेको उनी सुनाउँछिन्। कलाकारको बढ्दो पारिश्रमिकलाई लिएर एक अन्तर्वार्तामा उनले भनिन्, ‘म पनि २ लाख लिएर १० लाखको धाक लगाउन सक्छु। तर, म त्यसो गर्दिनँ। किनकि, मेरो भ्यालु कतिसम्म छ, त्यो मलाई थाहा छ।’
कलाकारले लिने पारिश्रमिक गोप्य हुनुपर्ने पनि उनको भनाइ छ। आँचल अगाडि भन्छिन्, ‘अहिले कलाकारबीच पारिश्रमिक कसले बढी लिने भन्ने नराम्रो होडबाजी चलेको छ। यसले कसैलाई फाइदा गर्दैन’ उनले कलाकारलाई घाँटी हेरी हाड निल्न सुझाइन्।



लाेकपाटी न्यूज

