कपिलवस्तु, १६ वैशाख। कपिलवस्तुमा एक विवाहित युवतीको विभत्स हत्या भएको छ। वाणगंगा नगरपालिका वडा नम्बर ८ बालापुरकी २१ वर्षीया सुनीता थारुको हत्या भएको हो।
प्रहरीका अनुसार उनको शव सोमबार बिहान घर नजिकैको वाणगंगा खोलामा भेटिएको थियो। ढुंगाले हानेर युवतीको हत्या भएको पाइएको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अच्युतमप्रसाद पुडासैनीले बताए। ‘स्थानीयले खबर गरेपछि सोमबार बिहान ४ बजेतिर शव फेला पारेका हौं,’ उनले भने, ‘युवतीको निधारमा ढुंगाले हानेको गहिरो चोट छ।’
हत्यामा संलग्न आशंकामा उनका श्रीमान २१ वर्षकै सुरेश थारूसहित तीन जनालाई पक्राउ गरिएको एसपी पुडासैनीले जानकारी दिए। ‘त्यसमा २ जना सुरेशका साथी हुन्,’ उनले भने, ‘ढुंगाले हानेर युवतीको हत्या गरिएको निश्चित हो तर यसमा कसको संलग्नता छ भन्ने पत्ता लगाउन अनुसन्धान सुरु गरेका छौं।’
प्रहरीका अनुसार सुनीतालाई उनका श्रीमानले आइतबार राति ९ बजेतिर नुहाउन भन्दै घर नजिकैको वाणगंगा खोलामा लगेका थिए। त्यही बेला उनको हत्या भएको प्रहरीको अनुमान छ। नुहाउन गएकी छोरी राति अबेरसम्म घर नफर्केपछि माइती पक्षले सोमबार बिहानै प्रहरीलाई खबर गरेका थिए।
स्थानीयका अनुसार सुनीता र सुरेशले एक वर्षअघि प्रेम विवाह गरेका थिए। सुनीतालाई पहिलदेखि श्रीमान्, सासुलगायत परिवारले यातना दिने गरेको बुझिएको छ।



लाेकपाटी न्यूज

