चिनियाँ उद्योगीलाई नेपालमा लगानी गर्न राष्ट्रपति भण्डारीको आग्रह

bidya- china visit
लाेकपाटी न्यूज

बेइजिङ, १५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लगानीको उत्साहजनक वातावरण रहेको बताएकी छन्। चीन भ्रमणका क्रममा आज बिहान नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चलाई सम्बोधन गर्दै उनले लगानीको उत्साहजनक वातावरण रहेकाले चिनियाँ उद्यमीलाई यसको उपयोग गर्न आग्रह गरेकी हुन्।

भूगोल संस्कृति र परम्पराले जोडेको चीन र नेपालको मित्रता र सहयोग लामो समयदेखि रहँदै आएको राष्ट्रपति भण्डारीले स्मरण गराइन्। एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको र नेपालमा चीनविरोधी गतिविधि हुन नदिन ठोस कदम चालिएको उनले उल्लेख गरिन्। नेपालमा संविधान निर्माणमार्फत राजनीतिक स्थायित्व सुरक्षित गरिएको जानकारी दिँदै राष्ट्रपति भण्डारीले अहिलेको सरकार स्थीर र बलियो भएको जानकारी समेत गराइन्।

जनताका उर्लदा आकांक्षालाई सम्बोधन गर्न सरकार द्रुत गतिमा लागिरहेको राष्ट्रपति भण्डारीको भनाइ थियो । उनले बीआरआईमार्फत नेपालमा लगानीको ढोका खोलेको र स्थायीत्वतर्फ अघि बढेको नेपालमा लगानीको प्रशस्त सम्भावना भएकाले त्यसलाई उपयोग गर्न चिनियाँ उद्यमीलाई आग्रह गरिन्।

नेपालका नीति कानूनहरु लगानीमैत्री रहेकोले नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीहरुले राम्रो मुनाफा कमाइरहेको जानकारी दिँदै भण्डारीले भनिन्, ‘नेपाल चिनियाँ लगानीलाई स्वागत गर्न तयार रहेको छ, चिनियाँ लगानी सहजीकरण गर्नु नेपालको उच्च प्राथमिकता समेत रहेको छ ।’

यसैबीच राष्ट्रपतिले आजै बेइजिङको केन्द्रमा रहेको नेपाली कलाकार अरनिकोद्वारा निर्मित श्वेत चैत्य अवलोकन गर्ने कार्यक्रम छ। साँझ अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनीमा नेपालले बनाएको लुम्बिनी शान्ति बगैंचाको अवलोकन गर्ने कार्यक्रम छ। सोमबार नेपाल र चीनबीच चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा छलफल हुने दूतावासका अधिकारीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्