अवैध लागूऔषधसहित १६ पक्राउ

arrested
लाेकपाटी न्यूज

ललितपुर, १५ बैशाख । ललितपुरको गोदावारी नगरपालिका–१ लगनखेल बस्ने चितवन घर भएका २१ वर्षीय सन्तोष घिमिरेलाई अवैध लागूऔषध गाँजा करिब १ केजीसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग लाँकुरी भञ्ज्याङबाट खटिएको प्रहरीले घिमिरेलाई शंका लागि जाँच गर्ने क्रममा उनले बोकेको झोलाबाट उक्त लागूऔषध गाँजा फेला परेको हो ।

यसैगरी ललितपुरको ललितपुर महानगरपालिका–३ धोबीघाट बस्ने सुनसरी धरान घर भएका २१ वर्षीय अतित तामाङ र रौतहट गौर घर भएका ३६ वर्षीय बिकलराज भट्टराईलाई नियन्त्रित लागूऔषध ट्रमा ट्याव्लेट २ हजार १ सय पिस, स्ट्रामिट ट्याब्लेट १ हजार ८ सय पिस, ट्रमिनो ट्याब्लेट १ सय पिस, ट्रमाचस ट्याब्लेट ५० पिस, स्ट्राबिन ट्याब्लेट २ सय पिस र एनटिको ट्याब्लेट २ सय पिस.सहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उक्त स्थानमा जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

साथै महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले ललितपुर सातदोवाटो क्षेत्रका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषध ट्रमा ट्याव्लेट ५० पिससहित काठमाडौं बानेश्वर बस्ने २१ वर्षीय प्रिन्स तिवारी समेत ११ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न मितिमा छुट्टाछुट्टै स्थानमा लाखांै रुपैयाँ लुटपाट गरी डाँका चोरी मुद्दाका फरार प्रतिबादी सिरहा नगरपालिका–१० मिर्चैया बस्ने २२ बर्षीय रबिन्द्र यादवलाई विभिन्न लागूऔषधसहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिराहाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले यादवलाई नाइट्राभेट २ सय ४५ ट्याब्लेट, नाईट्रोसन ८० ट्याबलेट, स्पासपालकन १६ थान, पिभोन स्पास प्लस ३२ ट्याब्लेट तथा चक्कु १ थानसहित सोही नगरपालिका–१७ माडरबाट फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यस्तै बाँसगढी नगरपालिका–७ गौरीपारा बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका–१ संघापुर बस्ने २० वर्षीय उनिस यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्