इण्डियन प्रिमियर लीग आज : टीममा पर्लान् सन्दीप ?

Sandeep lamichhane
लाेकपाटी न्यूज

एजेन्सी। भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज (आइतबार) दुई खेल हुँदैछ।

आइपीएल अन्तर्गत आइतबार पहिलो खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्नेछन्। यस्तै दोस्रो खेलमा कोलकत्ता नाइट राइडर्स र मुम्बई इण्डियन्सबीच खेल हुनेछ।

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले घरेलु मैदानमा बैंगलोरसँग खेल्नेछ। दुई टोलीबीचको खेल अपरान्ह ४.०० बजे सुरु हुनेछ। फिरोज शाह कोट्ला मैदानमा दिल्ली बैंगलोरलाई पराजित गर्दै प्ले अफ नजिक पुग्न चाहन्छ।

दिल्ली आठौं जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ। तेस्रो स्थानको दिल्लीको ११ खेलबाट १४ अंक रहेको छ। दिल्ली घरेलु टोलीलाई हराएर शीर्ष स्थानको चेन्नई सुपर किङ्ससँगको अंक बराबरी गर्न चाहन्छ।

चेन्नइको १६ अंक रहेको छ। यता बैंगलोर घरेलु टोलीलाई पराजित गर्दै अंक तालिका सुधार गर्न चाहन्छ। ११ खेलबाट ८ अंक जोडेको बैंगलोर पुछारमा छ।

बैंगलोरविरुद्ध दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई मैदान उतार्ने सम्भावना रहेको छ। सन्दीप घरेलु मैदानमा प्राय मैदान उत्रदै आएका छन्। सन्दीपले यस सिजन ५ खेलमा ८ विकेट हात पारिसकेका छन्।

यस्तै कोलकत्ता नाइट राइडर्स र मुम्बई इण्डियन्सबीचको खेल राति ८ बजे सुरु हुनेछ। कोलकत्ताको मैदानमा हुने खेलमा मुम्बई जीत निकाल्दै प्ले अफ नजिक पुग्न चाहन्छ।

दोस्रो स्थानको मुम्बईको ११ खेलबाट १४ अंक छ। कोलकत्ता ८ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ।