काठमाडौं, १३ वैशाख। भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिन लागेको घटना झापामा सार्वजनिक भएको छ । कचनकवल गाउँपालिका–२ का बमबहादुर गुरुङ् र उनका श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भन्दै भारतीय नागरिक भूपाल गुरुङलाई नेपाली नागरिकता बनाई दिन लागेको घटना बाहिर आएको हो।
आवश्यक कागजात पूरा गरी बमबहादुरले आफ्नो जेठो छोरा भन्दै भूपाललाई नागरिकता बनाउन बुधबार जिल्ला प्रशासन कार्यालय झापा लगेका थिए। भूपालमाथि शंका लागेर प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुंगेलले सोधपुछ गर्दा स्थायी ठेगाना भारत भएको र भारतीय मतदाता परिचयपत्र देखाएपछि घटना सार्वजानिक भएको थियो।
प्रशासन कार्यालयमा खटिएका प्रहरी टोलीले भारतीय नागरिक भूपाससहित बमबहादुरलाई नियन्त्रण लिएको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। ३५ वर्षीय भुपालको स्थायी ठेगाना आसाम राज्यको मणिपुर कानकोपी जिल्ला उल्लेख छ। बुबाको नाम चन्द्रबहादुर गुरुङ भएको उनको मतदाता परिचयपत्रमा उल्लेख छ। नियन्त्रणमा लिएका भूपाल र बमबहादुरलाई प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले बताए।
यता सर्जिमिन मुचुल्कामा कचनकवल २ का कविदास गुरुङ, सोही ठाउँका गङ्गाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना, शिवकुमार दाहाल, वडा सदस्य धनबहादुर गुरुङ, वडा कर्मचारी खगेन्द्रप्रसाद खतिवडाले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ।
बमबहादुर र चन्द्रकलाले छोरा भुपाल भन्दै वंशजको नाताले नेपाली नागरिकता प्रमाणपत्र दिएमा फरक नपर्ने भनी वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव र स्थानीय पाँच जनाले सही छाप गरेको देखिन्छ। गोरखापत्रमा खबर छ।



लाेकपाटी न्यूज

