आई पी एल क्रिकेटमा कोलकत्ता विरुद्ध राजस्थान ३ विकेटले विजयी, आज एक खेल हुँदै

IPL
लाेकपाटी न्यूज

काठमाडौं,  १३ वैशाख। भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत बिहीबारराति सम्पन्न खेलमा राजस्थानले कोलकत्तालाई ३ विकेटले पराजित गरेको छ।

प्रतियोगिताको ४३ औँ खेलमा घरेलु समर्थकहरुका बीचमा कोलकत्ता नाइट राइडर्स हार भोग्न बाध्य भयो। टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७५ रनको योगफल तयार पारेको थियो।

उसका लागि दिनेश कार्तिकले ५० बलको सामना गर्दै ९ छक्का र ७ चौकाको मद्दतमा नट आउट ९७ रनको योगदान गरे पनि अन्य ब्याट्सम्यान खासै चल्न सकेनन्। सुरुवाती ब्याट्सम्यान क्रिस लिन शुन्य रनमै आउट भए भने सबम्यान ग्रिल १४, नितिस राना २१, सुनिल नरिने ११, एन्ड्री रसेल १४ रन बनाएर पेभेलियन फर्केका थिए।

अन्य दुई ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन्। जवाफमा राजस्थानले १९.२ ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रनको योगफल तयार पार्‍यो र जित आत्मसात गर्‍यो। यो जितसँगै पहिलो पटक राजस्थान अन्तिमबाट दोस्रो स्थानमा उक्लेको छ भने हार भोगेको कोलकत्ता छैठौँ स्थानमा छ।

यसैबीच प्रतियोगितामा शुक्रबार एउटा खेल हुँदै छ। आज शुक्रबारको खेलमा चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्स बिच प्रतिस्पर्धा हुँदै छ। खेल नेपाली समयअनुसार राति ८ः१५ बजे चेन्नईमा हुनेछ। चेन्नई पहिलो स्थानमा छ भने मुम्बई तेस्रो स्थानमा छ।