तत्काल एनसेलले कर तिर्न नपर्ने

ncell2
लाेकपाटी न्यूज

काठमाडौं, १२ बैशाख । एनसेलले तत्काल लाभकर तिर्न नपर्ने भएको छ । सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेश जारी गरेपछि एनसेलले तत्काल कर तिर्न नपर्ने भएको हो ।

सर्वोच्चमा परेको रिटमा सर्वोच्च अदालतले एनसेलको पक्षमा आदेश जारी गरेको हो । बिहीबार सर्वोच्च अदालतले एनसेलसँग कर निर्धारण गरेको विषयमा ठूला करदाता कार्यालयका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले ‘केका आधारमा एनसेललाई ३९ अर्ब ६ करोड रुपैयाँ कर निर्धारण गरेको हो’ भनेर कारण देखाउ आदेश जारी गरेको हो ।

सर्वोच्चले दुवै पक्षको छलफल नभएसम्मका लागि एनसेलसँग पूँजीगत लाभकर नलिन आदेश दिएको हो । सर्वोच्चले वैशाख २४ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । यो विवादमा एनसेलले आफूले दुई आर्थिक वर्षमा रकम बुझाएको दाबी गर्दै अब १४ अर्ब ३६ करोड मात्र बुझाउनु पर्ने दाबी गरेको थियो भने ठूला करदाता कार्यालयले एनसेलले ३९ अर्ब ६ करोड तिर्नुपर्ने जनाएको थियो ।