नेपाल र थाइल्याण्डबीचको अन्तिम खेल रद्द, नेपाल सेमिफाइनलमा प्रवेश

cricketi 1
लाेकपाटी न्यूज

काठमाडौं, १२ वैशाख  । एसियाली क्रिकेट काउन्सिल (एसीसी) यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र थाइल्याण्डबीच समूह चरणको अन्तिम खेल वर्षाले रद्द भएको छ।

बिहीबार पहिले ब्याटिङ गर्दै नेपालले ७ विकेटको क्षतिमा २ सय ३४ रन बनाएको थिया । २ सय ३५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको थाइल्याण्डले १ ओभर ५ बलको सामना गर्दा वर्षा भएपछि खेल रोकिएको थियो। त्यतिन्जेलसम्म उसले एक विकेट गुमाइसकेको थियो भने रनको खाता खोल्न सकेको थिएन।

नेपालका लागि आशिष भट्टराईले अद्र्धशतकीय पारी खेल्दै ५८ रन बनाएका थिए। त्यस्तै दीपक बोहराले ३५, विशाल विक्रम केसीले ३८, विशालकुमार पटेलले २८ रन बनाए। अघिल्ला दुई खेल जितेको नेपाल तेस्रो खेल रद्द हुँदा पनि समूह विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

खेल रद्द हुँदा दुवै टोलीलाई समान १–१ अंक बाँडिएको छ। नेपाल पाँच अंकसहित समूह विजेता बन्दा दुई खेलमा जित र एउटामा पराजय भोगेको मलेसिया समूह उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।