काठमाडौं, १२ वैशाख। थाइल्यान्डमा जारी एसीसी १६ वर्षमुनि (यू–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्यान्डलाई २ सय ३५ रनको फराकिलो लक्ष्य दिएको छ।
थाइल्यान्डको चियाङमाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा सात विकेट गुमाउँदै २ सय ३४ रनको योगफल खडा गर्यो। नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ५८ रनको योगदान दिए।
त्यसैगरी विशालविक्रम केसीले ३८, दीपक बोहराले ३५, विशालकुमार पटेल २८ र निखिलकुमार सिंहले २२ रन जोडे।
बलिङतर्फ थाइल्याण्डका नारावेट नुन्ताराज एक्लैले तीन तथा योड्साक सारानोननाकुनले दुई विकेट झारे।
जारी प्रतियोगितामा नेपालले यसअघि खेलेको दुवै खेलमा विजयी हासिल गरेको छ। २ सय ३५ रनको विजयी लक्ष्य बोकेर अहिले नपाल थाइल्यान्डविरुद्ध जवाफी ब्याटिङमा उत्रेको छ।



लाेकपाटी न्यूज

