भीषण बाढीमा परी ५१ को मृत्यु

लाेकपाटी न्यूज

अफ्रिका, ११ वैशाख । दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा भिषण बाढी आएको छ। बाढीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको छ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बाढी आएको ठाउँको स्थलगत अवलोकन समेत गरेका छन् । दक्षिण अफ्रिकामा हालका दिनहरुमा भारी वर्षाले सताएको र सोही कारण गत हप्ताबाट दक्षिण र पूर्वी भागहरु बाढीबाट प्रभावित भएका छन् ।

लिबिया र सुडानमा जारी द्वन्द्वको विषयमा इजिप्टमा भएको सम्मेलनबाट फर्किएका रामाफोसाले उक्त बाढीबाट ज्यान गुमाएका परिवार र समुदायप्रति दुःख प्रकट गर्दै सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् ।

यसैबीच बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन पश्चात बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न राष्ट्रपतिले सबैसँग आह्वान गरेका छन्। यस बाढी र पहिरोमा परी मङ्गलबारसम्म ३३ जनाको मृत्यु भएको थियो । तर, पहिरोमा पुरिएका व्यक्तिलाई निकाल्ने क्रममा सो सङ्ख्या ५१ पुगेको बताइएको छ ।

बाढीका कारण भवनहरु भत्किएका र विद्युत प्रशारण लाइनमा पनि समस्या आएको छ । सहयोग, उद्धारलगायत बाढी प्रभावित व्यक्तिहरुलाई सुरक्षित स्थानमा सार्नका लागि दक्षिण अफ्रिकी सेनालाई परिचालन गरिएको छ । (एजेन्सी)