जापान जान नेपाली कामदार तत्काल नपाउने

japan
लाेकपाटी न्यूज

काठमाडौं, १० वैशाख। नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन्। जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो।

रोजगारीका लागि जापानले संरचना निर्माण प्रक्रिया अघिबढाएको छ। भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि सम्बन्धित व्यवसायको एसोसिएसनले सीप परीक्षण गर्नेछन्। नेपालका लागि सीप परीक्षणको परीक्षा लिन खुला भएका मध्ये कुनै पनि व्यवसायका एसोसिएसन तयार नभएको बताइएको छ।

भाषा र सीप परीक्षामा उत्तीर्णको जापान सरकारले कुनै पनि रोस्टर तयार गर्दैन। आफूले उत्तीर्ण गरेको सीप र भाषाको प्रमाणपत्रका आधारमा जापानी रोजगारदातासँग सम्पर्क गरी रोजगारदाताले पठाएको करार सम्झौतापत्रका आधारमा मात्र सम्बन्धित कामदारलाई भिसा उपलब्ध हुन्छ।

तर, जापानकै केही गैरनाफामूलक कम्पनीले भने नेपाल सरकारसँग मिलेर सीप र भाषा उत्तीर्ण गर्ने नेपाली इच्छुक कामदारको रोस्टर तयार गरी उनीहरूलाई जापानको रोजगारदाता कम्पनीको आवश्यकताअनुसार कामदारको मिलन म्याचिङको काम छुट्टै संस्था गठन गर्ने प्रस्ताव गरिएको छ। म्याचिङका लागि जापानका विभिन्न कम्पनीले पहल थालेका छन्।

नेपाल र जापानबीच श्रम समझदारी भएको एक महिना बित्नै लागेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले नेपाल र जापानबीच संयुक्त समिति बनाएर प्रक्रियाबारे छलफल गरिने बताए। प्रक्रियाकाबारे नेपालले प्रश्न बनाएर जापानलाई पठाइसकेको छ।

जापानबाट प्रतिक्रिया आइसकेको छैन। इन्टरनेसनल ह्युमन रिसोर्स नेटवर्क अर्गनाइजेसन फाउन्डेसन आईएचएनका अध्यक्ष यासिहारु कोमियामाले संयन्त्र निर्माण भइनसककोेले तत्काल नेपालबाट कामदार जान नसक्ने बताए। ‘भाषा परीक्षा लिन नेपालमा अझै तयारी भएको छैन’, उनले भने, ‘जापानका कुनै संस्था नेपालका लागि तयार नभएका कारण प्रक्रिया ढिला हुन सक्छ।’ अन्नपूर्णपोस्ट दैनिकबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्