सवारी दुर्घटनामा सातको मृत्यु (नामसहित)

लाेकपाटी न्यूज

काठमाडौं, ९ वैशाख । काठमाडौं, बझाङ, बाग्लुङ, उदयपुर, दाङ, धनुषा र कपिलवस्तुमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका ८ नेपालटार डाँडागाउँस्थित सडकमा बा.३ ख ५६२९ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री नुवाकोट घर भएकी ५८ वर्षीया देवकी परियारको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै बझाङको खप्तडछान्ना गाउँपालिका २ मा नेटाकाटाबाट बिवाहको जन्ती लिएर जयपृथ्वी नगरपालिका सुबेडा बझाङ जाँदै गरेको से.१ ज ७१८ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेर आइतबार दिउसो दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका ४ नेटाकाटा बस्ने ७१ वर्षीय बाशुदेव जोशीको घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ९ जनाको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ ।

त्यस्तै बाग्लुङको गलकोट नगरपालिका २ घोडाबाँधेस्थित सडकमा बिवाहको जन्ती लिएर जाँदै गरेको ध १ ख ४६८ नम्बरको बस सडकबाट अन्दाजी ७ मिटर तल खसेर आइतबार दिउसो दुर्घटना हुँदा गम्भीर घाइते भएका बसमा सवार काठेखोला गाउँपालिका ८ बस्ने ६४ वर्षीया गंगा बिकको धवलागिरी अञ्चल अस्पताल बाग्लुङमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ४ जनालाई थप उपचारको लागि गण्डकी अंचल अस्पताल पोखरातर्फ लगिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै उदयपुरको वेलका नगरपालिका ७ स्थित सडकमा को १ ज १६१५ नम्बरको पिकअप जिप आइतबार साँझ दुर्घटना हुँदा सोही स्थान बस्ने २३ वर्षीय मनोज राईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जिप चालकसमेत ३ जनालाई उपचारको लागि धरान घोपा अस्पताल पठाइएको छ ।

त्यस्तै दाङको लमही नगरपालिका ७ बनघुस्रीस्थित सडकमा ना.६ ख ९१६७ नम्बरको ट्रकमा रा ३ प ७९५ नम्बरको मोटरसाइकल ठोक्किएर आइतबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने २२ वर्षीय लालु चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटना घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै धनुषाको लक्ष्मीनिया गाउँपालिका ७ स्थित सडकमा ज ११ प ५३९७ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले आइतबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका चालक सोही गाउँपालिका ५ बस्ने ३० वर्षीय अरुण मण्डलको उपचारको लागि जनकपुर अंचल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

त्यसैगरी कपिलवस्तुको कपिलबस्तु नगरपालिका ३ औरहियास्थित भित्रीसडकमा लु।३ त ८४ नम्बरको ट्याक्टरबाट खस्दा सोही ट्याक्टरले किचिएर सोही स्थान बस्ने १३ वर्षीय असफर मुसलवानको आइतबार दिउँसो घट्नास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्