काठमाडौं, ८ बैशाख। भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपाली खेलाडी सन्दिप लामिछाने सहभागी दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ।
शनिबारराति भएको खेलमा लामिछाने रहेको दिल्लीले पन्जाबलाई ५ विकेटले पराजित गरेको हो। दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय ६४ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो।
दिल्लीको जितमा शिखर धवन र श्रेयस आयरले अर्धशतक बनाए। धवन ५६ रनमा आउट हुँदा आयरले अविजित ५८ रन बनाए । यस्तै कोलिन इन्ग्रामले १९ रन बनाउदा पृथ्वी शले १३ रन बनाए। पन्जाबका हार्डुस भिलजोइनले २ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो।
पन्जाबका लागि क्रिस गेलले ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मन्दिप सिंहले ३० रन बनाए।
पन्जाबविरुद्ध सन्दीपले ४० रन खर्चेर ३ विकेट लिए। यस्तै कागीसो राबडा र अक्षर पटेलले २-२ विकेट लिए।
यो जितसँगै दिल्लीले लिगमा छैटौं जित हात पारेको छ। दिल्लीले १० खेलमा ६ जितसहित १२ अंक जोडेको छ। दिल्ली अंक तालिकाको तेस्रो स्थानमा छ । चौथो स्थानको पन्जाबले १० खेलबाट १० नै अंक जोडेको छ।



लाेकपाटी न्यूज

