काठमाडौं, ०७ वैशाख । मोरङ, काभ्रे, सिराहा, चितवन, बारा, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम)मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–३ त्रियुगा चोकस्थित भित्री सडकमा को.२६ प ३०९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही स्थान बस्ने ३५ वर्षीय धन कुमार राईको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।
त्यस्तै काभ्रेको नमोबुद्ध नगरपालिका–२ पात्लेगाउँस्थित विपि राजमार्गमा बा.८६ प ३५२६ नम्बरको मोटरसाइकल र बा.३ ख ९४५३ नम्बरको बस शुक्रबार दिउँसो एकआपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार हाल वतन नखुलेका अन्दाजी १५ वर्षीय लक्ष्मी मगरको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी काभ्रेकै नमोबुद्ध नगरपालिका–२ सेल्फिडाँडास्थित विपि राजमार्गमा काभ्रेभन्ज्याङबाट भकुण्डेतर्फ जाँदै गरेको बा.३ ख ५३९६ नम्बरको टिफर सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा चालक धादिङ थाक्रे गाउँपालिका–७ बस्ने ४६ वर्षीय केदारबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको छ ।
त्यस्तै सिराहाको धनगढीमाई नगरपालिका–३ बनौलीस्थित लोकमार्गमा स.२ प ४७७ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले शुक्रबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका–१ बस्ने ३५ वर्षीय रामनारायण यादवको उपचारको लागि लाहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै चितवनको राप्ती नगरपालिका–१ पिप्लेमा ना.९ प ९९३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक मकवानपुर कांकडा–५ बस्ने २७ वर्षीय गोपिलाल स्याङतानको घटनास्थलमै मृत्यु भएको छ ।
त्यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित वीरगंज पथलैया सडकमा ना.५ ख ४१९७ नम्बरको ट्रकले ना.५१ प ४९८ नम्बरको स्कुटरलाई शुक्रबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटरमा सवार सोही उपमहानगरपालिका–३ बस्ने २१ वर्षीय सुशान्त कडेलको गण्डक हेल्थ केयर वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार सोही स्थान बस्ने २२ वर्षीय शम्भु साहको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधान र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी (पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ पिडारीस्थित सडकमा ग.१ ज ३५३० नम्बरको जिप र पार्किङ गरी राखेको ग.१ ख ८२२१ नम्बरको टिपर शनिबार बिहान एकआपसमा ठोक्किँदा उक्त जीपमा झुण्डिई यात्रा गरिरहेका सोही स्थान बस्ने २५ वर्षीय पदम सुनाखरी मगरको घटनास्थलमै मृत्यु भएको छ । दुवै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै नवलपरासी (पश्चिम), को सुनवल नगरपालिका–१२ भुमही चोकस्थित सडकमा लु.२८ प ९८०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही स्थान बस्ने ७० वर्षीया लक्ष्मी पाण्डेको शनिबार दिउँसो मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनास्थलमा उद्दार कार्य गर्नुको साथै दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।


लाेकपाटी न्यूज

