युएईमा डम्फू साँझ सम्पन्न, ख्यातिप्राप्त कलाकारको बेजोड प्रस्तुति

Damphu sajh (2)
लाेकपाटी न्यूज

अनिस तामाङ/युएई । तामाङहरुको सांस्कृतिक चिनारी डम्फूको नामबाट डम्फू साँझ युएई परिवारले पहिलो ऐतिहासिक डम्फू साँझ–२०१९ बृहत सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ।

तामाङ समुदायको सांस्कृतिक पहिचानको रुपमा चिनिने डम्फू पछिल्लो चरण तामाङ गीत संगीतदेखि चलनचल्तीको चाडपर्व रीतिरिवाजहरुमा समेत कम प्रयोग हुँदै गएकाले डम्फू साँझको आयोजना गरिएको हो। कार्यक्रमको सभापतित्व कार्यक्रम संयोजक सुरेन्द्र थिङ तामाङ र प्रमुख आतिथ्यता नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाले गरेका थिए।

त्यसैगरि विशेष अतिथिमा फिस्टल ट्राभल्स टुरिजम एलएलसीका सञ्चालक एवं एनआरएनए आइसिसी सदस्य ठाकुर प्रसाद ढुङ्गाना, तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तान, काभ्रे सेवा समाज युएईका अध्यक्ष दिल लामा, त्रिशुली समाज युएईका उपाध्यक्ष निशा लामा, एनआरएनए आइसिसी सदस्य सुदीप कार्की लगायत युएईका विभिन्न संघसंस्थाका प्रमुखहरू रहेका थिए ।

Damphu sajh (1)

दिप प्रज्वलन र राष्ट्रिय गान गाएर उद्घाटन भएको उक्त कार्यक्रमको स्वागत मनतव्य राख्ने क्रममा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ युएईका अध्यक्ष अनिस तामाङले जंग बहादुरको पालामा तामाङलाई पिपा बनाएदेखि आजको दिनसम्म पनि राज्यले अप्रत्यक्ष रुपमा हस्तक्षेप गरिरहेको र मृगलाई मार्न नपाउने नियम बनाएर राज्यले नै डम्फू लोप बनाउन खोजेको बताए।

यसैगरि नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाले युवाहरु डम्फूमा नाच्ने र गाउने मात्रै नभएर राजनीतिक रुपमा अगाडि आए मात्रै डम्फूको उचित संरक्षण गर्न सकिनेमा जोड दिए। अर्का विशेष अतिथि एनआरएनए आइसिसी सदस्य ठाकुर प्रसाद ढुङ्गानाले नेपालमा बज्ने सबै मौलिक बाजाहरु नेपालीको भएकाले राज्यले जातीय नजरले हेर्न नहुने बताए।

Damphu sajh (4)

यसैगरि तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानले पछिल्लोसमय युवाहरु ढुंगामुढामा मात्रै नभई यसरी मौलिक कुराहरुलाई सांस्कृतिक जागरणको रुपमा आफ्नो पहिचान इतिहास बचाउन अगाडि बढ्दै गएकोमा खुसी व्यक्त गरे। काभ्रे सेवा समाज युएईका अध्यक्ष दिल लामाले डम्फू साँझ कार्यक्रममा राज्यको कुनै प्रतिनिधि उपस्थित नहुनु हाम्रो संस्कृतिमाथि अपहेलना गरेको भन्दै अक्रोश व्यक्त गरेका थिए।

कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरु चर्चित सेलो गायिकाहरु इन्दिरा गोले, जीतु लोप्चन, गायकहरु विश्व दोङ, फूलकुमार बम्जन, म्हेन्दोमाया गायक सुमन घले, तामाङ चलचित्रको वरिष्ठ नायक तथा निर्माता अमिर दोङ तामाङ, नायिका सुनिता लुङ्बा, सुश्मा मोक्तान र कार्यक्रम उद्घोषिका स्मारिका थिङ तामाङलाई डम्फू साँझ युएई समिति, तामाङ समाज युएई र काभ्रे समाज युएईले खादा र प्रमाणपत्र हस्तान्तरण गरेर सम्मान गरेका थिए।

Damphu sajh (3)

उक्त कार्यक्रममा कलाकारहरुले दर्जनौं डम्फू र सेलोका गीतहरु गायन र नृत्यमार्फत् दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए। उक्त कार्यक्रमको औपचारिक कार्यक्रम नेपाल आदिबासी जनजाति महासंघ युएईका महासचिव सनिल घिसिङले सञ्चालन गरेका थिए। अनौपचारिक कार्यक्रम नेपालबाट आमन्त्रित उद्घोषिका स्मारिका थिङ तामाङले गरेकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्