काठमाडौं, ०५ वैशाख । सरकारले निजामती कर्मचारीको तलब बढाउने भएको छ । पछिल्लो दुई वर्षदेखि कर्मचारीको तलब नबढेकाले आगामी आर्थिक वर्षको बजेटमा तलब बढाउने तयारी भएको हो।
स्रोतकाअनुसार अर्थमन्त्री डा.युवराज खतिवडाले कर्मचारीको तलब बढाउने गृहकार्य सुरु गरेका छन्। निजामती कर्मचारीलाई खुसी राख्न पनि तलब बढाउनैपर्ने बाध्यता आइपरेको भन्दै प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्री खतिवडालाई ‘ग्रिन सिग्नल’ दिएको बुझिएको छ। अर्थमन्त्री खतिवडाको यो अन्तिम बजेट प्रस्तुति हो ।
उनको राष्ट्रिय सभाको सदस्य पद आगामी चैतसम्म मात्र रहेकाले उनले लोकप्रियता पाउन पनि बजेट बढाउने तयारी गरेका हुन्। बजेटमा कर्मचारीहरुको तलब २० प्रतिशतले बढाउन दबाब परेको छ। कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले तलब वृद्धिका लागि छलफल र लबिङ सुरु गरिसकेको छ। युनियनका अध्यक्ष पुण्य ढकाल प्रधानमन्त्री ओली निकट हुन् । उनले बलियो लबिङ सुरु गरेका छन्। पछिल्लो दुई वर्षदेखि तलब नबढेकाले नेपाल राष्ट्र बैंकको मूल्यवृद्धि सूचकाङ्क र देशले निर्धारण गरेको समृद्धिको लक्ष्यलाई पूरा गराउन सघाउने गरी कर्मचारीको तलब बढाउनुपर्ने भन्दै लबिङ सुरु भएको छ ।
कर्मचारीको तलब वृद्धि भएसँगै महङ्गी पनि बढ्ने भएको छ । अहिले १० प्रतिशत महङ्गी छ । यदि बजेटमा कर्मचारीको तलब भत्ता वृद्धि भएमा महङ्गी बढेर १५ प्रतिशतसम्म पुग्ने विश्लेषण गरिएको छ । मुलूकमा आयात बढ्दै जाने र निर्यात दर घट्दै जाँदा व्यापार घाटा उच्च विन्दुमा पुगेको छ । वैदेशिक ऋण र अनुदान सहायता रोकिएको छ । राजश्व संकलनमा कमी आएको छ । राज्यको ढुकुटीमा जम्मा भएको दुई खर्बमध्ये ओली सरकार बने यता एक खर्ब सिद्धिएको स्रोतले जनाएको छ ।



लाेकपाटी न्यूज

