काठमाडौं, ०४ वैशाख । कैलाली, रुपन्देही, सिराहा, कास्की र रौतहटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–१९ स्थित हुलाकी सडकखण्डमा से.७ प ५३५० नम्बरको मोटरसाइकलले मंगलबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने पैदलयात्री ५२ वर्षीया सरस्वती अधिकारीको सेती अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते मोटरसाइकल चालक गोदावरी नगरपालिका–५ घर भएका २८ वर्षीय रामचरण चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै रुपन्देहीको कोटहीमाई गाउँपालिका–४ स्थित भित्रि सडकखण्डमा लु.१ ख ५३९९ नम्बरको ट्रिपरले सोही ठाउँ बस्ने पैदलयात्री १४ वर्षीय भगवानशंकर कुर्मी चौधरीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकाले उपचारको लागि भैरहवातर्फ लैजाने क्रममा मंगलबार साँझ बाटोमै मृत्यु भएको छ । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै सिराहाको धनगढीमाई नगरपालिका–९ जिरोमाईलस्थित पूर्वपश्चिम राजमार्गमा को.३८ प २९०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार गोलबजार नगरपालिका–६ बस्ने १९ वर्षीय सुभाष सिंह गम्भीर घाइते भएकाले रा.उ.स्मारक अस्पताल लाहान लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
कास्की पोखरा महानगरपालिका–१४ चाउथेस्थित बेलचौतारा चोकमा ग.१ त ३१५७ नम्बरको ट्याक्टरले सोही ठाउँ बस्ने पैदलयात्री ५५ वर्षीया रमादेवी खड्कालाई मंगलबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएकीले पश्चिम क्षेत्रीय अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
रौतहटको माधवनारायण नगरपालिका–३ स्थित गौर चपुर सडकखण्डमा बिआर ३० एच ५९८ नम्बरको मोटरसाइकलले मंगलबार साँझ ठक्कर दिंदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने साईकलयात्री ४५ वर्षीय महेन्द्र साहको बीरगंज हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनास्थलमा खटिएर आवश्यक उद्धार कार्य गर्नुका साथै दुर्घटनाको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


लाेकपाटी न्यूज

