काठमाडौं । नेपालीहरूको घर, आँगनमा हर्षोल्लासका साथ नयाँ वर्ष भित्रीएको छ। नयाँ वर्षसँगै धेरैले विभिन्न योजना बनाएका हुन्छन्। ती सबै योजनाको गन्तव्यमा पुग्न नभई नहुने महत्त्वपूर्ण कुरा भनेको हो स्वस्थ्य जीवन हो। शरीर तन्दुरुस्त भयो भने कार्ययोजनामा सफल हुन काम, गर्न सहज हुन्छ। यसै सन्दर्भमा जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेतीले कसरी स्वस्थ रहन सकिन्छ भन्ने सन्दर्भमा केही टिप्स दिएकी छन्।
पहिलो टिप्स
दैनिक एक घण्टा आफ्ना लागि छुट्याउनुहोस्। बिहान उठेर योग (मेडिटेसन) वा शारीरिक व्यायाम आफूलाई जे उपयुक्त लाग्छ, त्यो गर्न सकिन्छ। यसले शरीर फुर्तिलो र दिनभर काममा जाँगरिलो बनाउँछ। आफू मात्र होइन घरमा भएका परिवारका अरु सदस्यलाई पनि सँगै राखेर योग वा व्यायाम गर्दा सबैलाई फाइदा हुन्छ। बच्चाहरू छन् भने उनीहरूलाई पनि व्यायाम गराउनुस्। कसैलाई नाच्न रुचि छ भने नाचेर पनि व्यायाम गर्न सकिन्छ।
दोस्रो टिप्स
घरमा बनेका खानेकुरामा बढी जोड दिनुहोस्। सामान्यतयः अफिस समय ‘फिक्स’ भएकाहरूले घरमै पाकेको तातो खाना खाएर निस्किनुस्। यदि छिटो निस्कनु पर्नेछ भने टिफिनमा रोटी तरकारी, चिउरा, आलु भटमास केही न केही बोकेर हिँड्नुस्। अफिसमा गएर खान मिल्छ।
यसमा लाज मान्नुपर्ने कुरा केही छैन। घरमै बनेको खानाले स्वास्थ्य राम्रो हुन्छ भन्ने कोणबाट हेर्नुपर्छ। सकेसम्म बाहिरको खाना नखानुस्। क्रृत्रिमभन्दा प्राकृतिक खानेकुरा नै बढी खानुस्।
तेस्रो टिप्स
कामको बाँडफाँड गर्नुस्। हाम्रो समाजमा विशेषगरी महिलाहरूले सबै काम आफैँ गरिरहेका हुन्छन्। यसले शारीरिक र मानिसक थकान बढाउँछ। आजभोलि अधिकांश महिला कामकाजी भएकाले पहिलेजस्तो घरको मात्र काम गरेर पुग्दैन। त्यसैले अफिस र घर दुवैको सबै काम भ्याउँछु भन्ने हठ नगर्नुस्। यसका लागि कामको बाँडफाँड गर्न जान्नुपर्छ। घरमा जसले जे गर्न सक्छ उसलाई त्यही काम गर्न दिएर आफूलाई कामको बोझ कम गर्न सकिन्छ।
चौथो टिप्स
रमाइलो गर्नुस्। तर, मोबाइल एवं कम्युटरलाई माध्यम नबनाउनुस्। कामबाहेक यिनमा धेरै समय नबिताउनुस्। यसले नशा लागेजस्तै बनाउँछ। फुर्सदमा बरु गीत संगीत सुन्नुस्। बच्चाहरूलाई समय दिनुस्। बच्चालाई गीत गाउन लगाउनुस्। मजाले हाँस्नुस्। हामी कामका कारण यति व्यस्त भयौँ कि हाँस्न पनि बिर्सिसक्यौँ। हाँस्नु स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक मानिन्छ। दिनमा कम्तिमा एक पटक दिल खोलेर हाँस्नुस्। स–साना कुरामा खुुशी हुन थालियो भने हाँसो आफैँ आउँछ।
पाँचौँ टिप्स
सबैभन्दा महत्त्वपूर्ण परिवार र आफ्नो स्वास्थ्यको बारेमा जानकारी लिने र जाँच गर्ने गरौँ। हामीमध्ये धेरै रोग लागिसकेपछि अस्पताल जान्छौँ। यो अत्यन्तै खराब बानी हो। कम्तिमा वर्षको एक पटक स्वास्थ्य परिक्षण गर्ने बानी बसालौँ। घरका अन्य सदस्यको स्वास्थ्यको बारेमा पनि ख्याल राख्नुस्।



लाेकपाटी न्यूज

