नेपालको खानेपानी कतार निर्यातकाे तयारी, विज्ञ टोली गठन गरिँदै

khanepani mantralaya
लाेकपाटी न्यूज

काठमाडौं, ०२ वैशाख । नेपालको खानेपानी कतार निर्यात गर्न सरकारले विज्ञ टोली गठनको तयारी अगाडि बढाएको छ। नोपालको खानेपानी कतार निर्यात गर्नका लागि हिमाली जिल्लामा रहेका पानीका स्रोतको अध्ययन, प्रशोधन, बजार प्रवद्र्धन र गुणस्तर तोक्न सरकारले विज्ञ टोली गठनको तयारी गरेको हो ।

खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, खानेपानी मन्त्रालय र खानेपानी विभागबाट प्रतिनिधित्व हुने गरी विज्ञ टोली गठनको तयारी भइरहेको जनाएका छन्। उनले अबको १ हप्तामा विज्ञ टोली गठन भइसक्ने बताएका छन्।

नेपालको खानेपानी कतार पठाउनका लागि नेपालमा खानेपानीको स्रोत पहिचान गर्न, त्यसलाई प्रशोधन गर्ने उद्योग स्थापनाको सम्भाव्यता अध्ययन गर्न र खानेपानीको गुणस्तर तोक्ने काम प्राथमिकताका साथ गर्न टोली गठन गरिने भएको हो।

महानिर्देशक दासले खानेपानी निर्यात गर्ने विषयमा विभागले अब छिटै विस्तृत अध्ययन अगाडि बढाउने र दुवै देशबीच सम्झौताको मस्यौदा तयार पार्नेसमेत जानकारी दिए। गत मङ्गलबार खानेपानी मन्त्रालयले नेपालको खानेपानी कतार पठाउने विषयमा प्रारम्भिक छलफल गरेको थियो ।

खानेपानी मन्त्री बिना मगरले मङ्गलबार दिउँसो नेपालको खानेपानी कतार निर्यात गर्ने विषयमा नेपालका लागि कतारी राजदूत बिन मोहम्मद अल हेलसँग छलफल गरेकी थिइन् ।

नेपालको खानेपानी कतार पठाउनका लागि प्रारम्भिक छलफल भए पनि नीतिगत निर्णय र छलफल हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ।

विज्ञ टोली गठन भएपछि पश्चिममा दार्चुलादेखि पूर्वमा ताप्लेजुङसम्मका हिमनदीको अध्ययन अगाडि बढाउने खानेपानी विभागले बताएको छ । “खानेपानी सरकारले निर्यात गर्ने कि निजी कम्पनीलाई जिम्मा दिने भन्ने विषयमा हामी छलफल गरिरहेका छौं । यस योजनामा विज्ञ टोलीले एउटा प्रतिवेदन तयार गर्ने छ,” महानिर्देशक दासले भने, “कतार सरकारले नेपालको खानेपानी उत्पादन र निर्यात क्षमता, खानेपानीको विशेषता र मूल्य तय गरेको प्रतिवेदन माग गरिरहेको छ । हामी यसमा गृहकार्य गरिरहेका छौं।”

पानीको स्रोतको सदुपयोग नेपालको खानेपानी कतार निर्यात गर्ने विषयमा आफू उत्साहित रहेको मन्त्री मगरले मन्त्रालयको उक्त छलफलमा बताएकी थिइन् ।

भेटमा कतारी राजदुतले पनि कतारलाई ग्यास र तेलको अभाव छैन तर शुद्ध पिउने पानीको भने समस्या भएकोले भविष्यमा खानेपानीको समस्या आउने चिन्ता व्यक्त गरेका थिए। उनले नेपालको पानी कतारमा लैजाने विषयमा दुवै देशका सरकारबीच समझदारी गर्नु अति आवश्यक रहेको बताउँदै नेपालको पानी सफा र स्वच्छ रहेकाले कतारमा यसको बजार राम्रो रहेको बताएका थिए।

नेपालको खानेपानी कतार निर्यातका लागि खानेपानी विभागलाई खानेपानी मन्त्रालयले निर्देशन दिइसकेको बताउँदै महानिर्देशक दासले विभागले त्यस्का लागि आवश्यक गृहकार्य अघि बढाइरहेको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्