मुम्बई, २९ चैत । इण्डियन प्रिमियर लिग आईपीएलमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रबार हुने दुई टिमबीचको खेल कोलकाताको इडेन गार्डेन रंगशालामा राति सवा ८ बजेदेखि सुरु हुनेछ ।आईपीएलमा दिल्लीको खेल आएसँगै सम्पूर्ण नेपाली क्रिकेट समर्थकमा सन्दिप लामिछाने टिममा परे कि परेनन् भन्ने कौतुहलता देख्न सकिन्छ ।
दिल्लीका सुरुआती २ खेलमा टिममा नपरे पनि त्यसयता चार खेलमा लगातार खेलेर सन्दीपले ५ विकेट लिएका छन् । दुई दिनअघि रोयल च्यालेन्जर्स बैंग्लोरबिरुद्धको खेलमा मोइन अलीको विकेटसँगै सन्दीपले ट्वान्टी ट्वान्टी क्रिकेटमा ५० विकेट पूरा गरेका हुन् ।
त्यस खेलमा सन्दीपले करिअरकै खराव बलिङ गर्ने क्रममा ४६ रन खर्चेका थिए । त्यसैले यस खेलमा उनी टिममा नपर्ने टिप्पणी हुने गरेको छ । तर, कोलकाताबिरुद्धको यसअघिको प्रदर्शन सन्दीपको राम्रो थियोे । घरेलु मैदान फिरोज साह कोट्ला मैदानमा भएको खेलमा सन्दीपले १ विकेट लिएका थिए । उनले दिल्लीका अन्य बलरको तुलनामा उत्कृष्ट खेलेका थिए ।
त्यस खेल दिल्लीले सुपर ओभरमा जितेको थियो । दुवै टिमले १८५ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । जहाँ दिल्लीका कागिसो रावाडाले सानदार बलिङ गरेका थिए । ६ खेलबाट ४ जित र २ हारको नतिजासहित ८ अंक बनाएको कोलकाता लिगको दोस्रो स्थानमा छ भने समान खेलबाट ३ जित र ३ हारको नतिजासहित ६ अंक जोडेको दिल्ली छैटौं स्थानमा छ ।



लाेकपाटी न्यूज

