किन भयो जेट एयरवेजको काठमाडौं उडान बन्द ?

airways
लाेकपाटी न्यूज

काठमाडौं, २९ चैत । आर्थिक संकटमा रहेको भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले आजदेखि काठमाडौंको उडान बन्द गरेको छ।

भारतको नयाँदिल्ली र मुुम्बईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा उडान भर्दै आएको उक्त एयरले आर्थिक संकटका कारण विमानस्थललाई करोडौँ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेकै समयमा उडान बन्द गरेको हो। जेट एयरका एक कर्मचारीका अनुसार दैनिक ५ उडान गर्दै आएको एयरले करिब १ महिनादेखि दैनिक २ वटा उडान गर्दै आएको थियो। उनका अनुसार जेटले काठमाडौंबाट नयाँदिल्ली र बम्बईमा उडान भर्दै आएको थियो।

काठमाडौं गन्तव्य बनाएर उडान गर्ने वायुसेवा कम्पनीहरुले सेवा शूल्कअन्तर्गत विमानस्थल विकास शूल्क, ल्यान्डिङ र पार्किङ, हवाई परिवहन सञ्चालन उपकरण प्रयोग, सुरक्षा, कोठा काउन्टर शूल्कबापत रकम बुझाउनुपर्छ। तर, जेट एयरले यस्तो शूल्क लामो समयदेखि बुझाएको छैन।

गत पुस मसान्तसम्म मात्रै जेटले यस्तो शूल्क ९ करोड ३३ लाख ७८ हजार १ सय ६४ रुपैयाँ तिर्न बाँकी थियो। आन्तरिक व्यवस्थापनका कारण जेट एयरले शुक्रबारदेखि नै मे ५ तारिखसम्म काठमाडौंबाट उडान नगर्ने पत्र उक्त विमान कम्पनीले त्रिभुवन विमानस्थल कार्यालयलाई पठाएको जनाएको छ।

नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शूल्क नियमावली २०६८ अनुसार विमानस्थल कार्यालय प्रमूख राजकुमार क्षेत्रीले जेट एयरले करोडौं बक्यौता रकम भुक्तानी नगर्दा पनि एयरको एउटा पत्रलाई आधार बनाएर उडान बन्द गर्न अनुमति दिएका हुन्। जेट एयरले काठमाडौंसहित अन्य स्थानमा उडान गर्ने ७९ विमानलाई सेवाबाट हटाइसकेको छ।

१ अप्रिल १९९२ मा स्थापना भएको जेट एयरले १९९३ मा चार बोइङ विमानबाट उडान सुरु गरेको थियो। २०१२ मा भारतको सबैभन्दा ठूलो निजी विमान कम्पनी बनेको जेट एयर सन २०१८ देखि आर्थिक संकटमा परेको हो।

कस्तो छ नियम?
नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शूल्क नियमावली (चौथो संशोधन) २०६७ को नियम ३० अनुसार सेवामा रोक लगाउने तथा अन्य कारबाही गरिने व्यवस्था छ।

उक्त व्यवस्थाअनुसार सेवा शुल्क भुक्तानी नगर्ने विमान कम्पनीलाई विमानस्थलबाट जारी गरिएको अनुमतिपत्र, सम्झौतापत्र वा अन्य कुनै कारोबार गर्न दिइएको अनुमति विमानस्थल कार्यालय प्रमूखले स्थगन गरी विमानस्थलमा रहेको उनीहरुको सम्पत्ति रोक्का राखी आवश्यक कारबाही गर्न पाउँछन्।

उक्त व्यवस्थामा विमानस्थल सेवा शूल्क नियमावलीअनुसार ६० दिनभित्र रकम नबुझाउने एयरलाइन्सको उडान रोक्न र जहाज ‘ग्राउन्डेड’ गर्न सकिने प्रावधान छ। साँवा रकम नबुझाएपछि ३० प्रतिशतका दरले विलम्ब शूल्क लाग्छ। समयमा बुझाउँदा छुटको व्यवस्था छ। विमानस्थल सेवा शूल्क नियमावली २०६७ अनुसार बिल जारी गरेको ७ दिनभित्र बक्यौता रकम तिरेमा ३ प्रतिशत शूल्क छुट दिने व्यवस्था छ।

त्यस्तै ३० दिनभित्र बक्यौता रकम तिरेमा जरिवाना शूल्क तिर्नुपर्दैन। ३० दिनदेखि ४५ दिनसम्म ५ प्रतिशत जरिवाना लाग्छ। ४५ देखि ५९ दिनसम्म बक्यौता रकम बुझाएमा १५ प्रतिशत जरिवाना तिर्नुपर्ने नियमावलीमा उल्लेख छ। यसैगरी ६० दिनदेखि माथि रकम भुक्तानी नगरेमा ३० प्रतिशतको दरले जरिवाना लाग्छ।

शूल्क भुक्तानी गर्ने विदेशी विमान कम्पनीहरु
नेपालमा उडान बन्द गरेर सम्पर्कविहीन १८ विमान कम्पनी छन्। जसमध्ये सबैभन्दा बढी बक्यौता गल्फ एयरको छ। गल्फले २ करोड २२ लाख १३ हजार ५४ रहेको छ।
एयर सहारा जेटलाइटको ३४ लाख ७८ हजार, अस्ट्रिन एयरलाइन्सको ४३ हजार, बहाराइन एयरलाइन्सको २४ लाख ६३ हजार, बर्मा एयरवेजको १ लाख ६ हजार, कोलोसस एयरको ५७ हजार, जीएमजी एयरलाइन्सको १ लाख ६० हजार, हङकङ एक्सप्रेसको १९ लाख ६२ हजार, किंगफिसर एयरलाइन्सको १ करोड १५ लाख ९७ हजार रुपैयाँ विमानस्थल कार्यालयलाई शूल्क तिर्न बाँकी छ।

यसैगरी लुफ्थान्सा एयरको १ लाख ६३ हजार, ओरियन्टल थाई एयरवेजको ५ लाख ८९ हजार, पाकिस्तान एयरलाइन्सको २६ लाख ८४ हजार, र्याक एयरवेजको १ लाख ८३ हजार, सिंगापुर एयरलाइन्सको ५ लाख ५ हजार, स्पाइसजेट एयरलाइन्सको १ लाख १५ हजार, तुई एयरलाइन्सको ९ लाख ५८ हजार र युनाइटेड एयरवेजको १ लाख ६ हजार रुपैयाँ शूल्क विमानस्थल कार्यालयले लिन बाँकी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्