काठमाडौं, २४ चैत । नेपाल राष्ट्र बैंकले झण्डै ९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले मंगलबार तीन भिन्न किसिमका ८ अर्ब ८९ करोड ८६ लाख ८० हजार रुपैयाँको बिल जारी गर्न लागेको जनाइएको छ।
ट्रेजरी बिलको अनलाइन बोलकबोल सोमबार दिउँसो ३ बजे हुने बताइएको छ। राष्ट्र बैङ्कका अनुसार ९१ दिनका लागि जारी हुन लागेको एक अर्बको बिल आगामी २०७६ असार २४ गते परिपक्व हुनेछ ।
त्यसैगरी १ सय ८२ दिनका लागि जारी हुन लागेको १ अर्ब ८९ करोड ८६ लाख ८० हजार रुपैयाँको बिल २०७६ असोज २१ गते परिपक्व हुनेछ । त्यस्तै ३ सय ६४ दिनको लागि जारी हुन लागेको ६ अर्ब रुपैयाँको बिल २०७६ चैत २५ गते परिपक्व हुनेछ ।
यसअघि यही चैत १८ गते भएको ३ अर्ब २५ करोड रुपैयाँ बराबरको २८ दिने ट्रेजरी बिल बोलकबोलमा ५ अर्ब ३५ करोड, १ अर्ब बराबरको ९१ दिने ट्रेजरी बिल बोलकबोलमा ६ अर्ब ६८ करोड रुपैयाँ, ३ अर्ब रुपैयाँ बराबरको १ सय ८२ दिने ट्रेजरी बिल बोलकबोलमा १० अर्ब ३५ करोड र ४ अर्ब ३६ करोड रुपैयाँ बराबरको ३ सय ६४ दिने ट्रेजरी बिल बोलकबोलमा १४ अर्ब ३८ करोड बराबरको बिड परेको थियो।



लाेकपाटी न्यूज

