ललितपुर, २३ चैत । शुक्रबार अपरान्ह १२ बजे जनक शिक्षा सामग्री केन्द्रको किताब बोकेको ट्रक सानेपामा दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
भर्खरै बनेको रिङरोडमा बल्खुभन्दा केही वर नयाँबाटोमा विपरीत दिशाबाट आइरहेको स्कुटर अर्को लेनमा जान लागेको थियो । उक्त स्कुटरलाई जोगाउन खोज्दा १ घ ५३३ नम्बर ट्रक अनियन्त्रित बल्खुबाट आइरहेको बा ७ च २१३१ टाटा मोबाइल भ्यानमाथि पल्टिँदा सो दुर्घटना भएको थियो।
दुर्घटनामा परी भ्यानमा सवार दोलखा ठूलो पातलका ४० वर्षीय इन्द्रबहादुर सुनार र धनुषाकी डोल्मा शेर्पाको मृत्यु भएको हो।
घटनास्थलमा रहेका प्रहरी निरीक्षक रमेश सिलवालका अनुसार ललितपुर भैंसेपाटीकी १८ वर्षीया स्मृति मगर घाइते भएकी छन्।
‘प्रत्यक्षदर्शीले स्कुटरलाई जोगाउन खोज्दा ट्रक अनियन्त्रित भई दुर्घटना भएको बताएका छन्। हामीले ट्रकको चालकलाई समातेर अनुसन्धान गरिरहेका छौं,’ सिलवालले भने।
स्कुटरलाई भने केही नभएको प्रत्यक्षदर्शीले बताएका छन्। घटनास्थलमा पुग्दा दुई जना मरिसकेको भेटिएको प्रहरीले जनाएको छ।


लाेकपाटी न्यूज

