फुटबलका बादशाह पेले अस्पताल भर्ना, कस्तो छ उनको स्वास्थ्य ?

Pele
लाेकपाटी न्यूज

एजेन्सी । ब्राजिलियन फुटबलर पेले पिसाब नलिमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । विश्व फुटबलका बादशाह मानिने फुटबलर पेले बुधबार फ्रान्सको पेरिसस्थित अस्पतालमा भर्ना भएका हुन् ।

उनको पिसाब नलिमा समस्या देखिएपछि अस्पताल भर्ना भएको उनका प्रवक्तालाई उद्धत गर्दै सिएनएनले जनाएको छ । ‘द ब्लाक पर्ल’ को नामबाट ख्याति कमाएका ७८ वर्षीय पेलेको ‘युरिनरी ट्रयाक इन्फेक्सन’ भएको समाचारमा उल्लेख छ । पछिल्ला वर्षहरुमा स्वास्थ्यमा समस्या देखिएपछि पेले पटक-पटक अस्पताल भर्ना हुँदै आएका छन् ।

रसिया विश्वकप ताका पनि पेलेको स्वास्थ्यमा समस्या देखिएपछि उनको रसिया भ्रमण स्थगन भएको थियो ।यस्तै, बुधबार अस्पताल भर्ना भएका पेलेलाई अस्पतालले २ दिनमा डिस्चार्ज गर्ने बताएको छ । फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्टार केलियन एमबाप्पेको कार्यक्रममा सहभागी हुन पेले फ्रान्स पुगेका थिए ।

तीन पटक विश्व कप फुटबल ब्राजिलले जित्दा नायक बनेका पेले विश्व फुटबलका महान खेलाडी हुन् । उनले राष्ट्रिय टोलीबाट खेल्दै सन् १९६८, १९६२ र १९७० को विश्व कप जिताएका थिए ।