सवारी दुर्घटनामा पाँचको मृत्यु

लाेकपाटी न्यूज

काठमाडौं, २१ चैत । काठमाडौं, सिन्धुली, चितवन, धादिङ र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित सडकमा बा.२ ख ६७८२ नम्बरको टिपरले बा.८३ प १९९७ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कोटेश्वर नरेफाँट बस्ने कपिलवस्तु तौलिहवा नगरपालिका–७ घर भएका ४३ वर्षीय राजेन्द्र आचार्यको सिभिल अस्पताल बानेश्वरमा उपचारको क्रममा मृत्यु भएको छ ।

त्यस्तै सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मुल्कोटस्थित सडकमा ना.१ ज ६१२४ नम्बरको सुमोको ठक्करबाट पैदलयात्री सोही स्थान बस्ने ९० वर्षीया टिकाकुमारी दाहालको बुधबार बिहान मृत्यु भएको छ ।

सुमोको ठक्करबाट गम्भीर घाइते भएकी उनको बि एण्ड बी अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै चितवनको खैरहनी नगरपालिका–९ स्थित सडकमा ना.४ ख ३५०० नम्बरको बसको ठक्करबाट हाल नाम, थर, वतन, नखुलेका अन्दाजी ७५ वर्षीय पुरुषको बुधबार राति घटनास्थलमै मृत्यु भएको छ । यसैगरी धादिङको धुनिबेशी नगरपालिका–९ बाहुनडाँडास्थित सडकमा ना.६ ख ११७९ नम्बरको ट्रकले ना.५२ प ४९३७ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक चितवन टाँडी नगरपालिका–१३ बस्ने १८ वर्षीय बिवश पौडेलको बिएण्डबी अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २४ वर्षीय समीर श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीस्थित सडकमा ना.५९ प ३८०४ नम्बरको स्कुटरलाई ना.८ ख १८४२ नम्बरको ट्रकले बुधबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटरमा सवार चितवन खैरेनी नगरपालिका–८ बस्ने २५ वर्षीया मुन्ना चौधरीको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक ३१ वर्षीय सरोज चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधान र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्