काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा गतवर्ष नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई तत्कालिन दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैंया खर्चेर अनुबन्ध गरेको थियो ।
यो समग्र नेपाली क्रिकेटका लागि एक सुनौलो अवसर पनि थियो । उक्त अवसर सन्दीपले चुक्न दिएनन् । अन्तिम तीन खेलमा मौका पाउँदा उत्कृष्ट प्रर्दशन गरे । सन्दीपले आईपीएलपछि पछिल्लो एक वर्षमा विश्वका प्रख्यात सबै फ्रेन्चाइज लिग खेले । सन्दीपले निरन्तर उत्कृष्ट प्रर्दशन गरिरहँदा अन्य नेपाली खेलाडीलाई पनि विदेशी फ्रेन्चाइज लिग खेल्न बाटो सहज बनेको छ । सन्दीपले आफ्नो प्रर्दशनबाट मौका पाए अन्य नेपाली खेलाडीले पनि उत्कृष्ट प्रर्दशन गर्न सक्ने विश्व क्रिकेटमा सन्देश दिएका छन् ।
यस्तै नेपालमा अरु पनि केहि यस्ता खेलाडीहरु छन् जसलाई आईपीएल खेल्ने सम्भावना बोकेका खेलाडीको रुपमा हेरिएको छ । आईपीएल खेल्ने सम्भावना बोकेका खेलाडीको सुचीमा सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सन्दिप जोरा र रोहित कुमार पौडेल रहेका छन् ।
सोमपाल कामी
सोमपाललाई नेपाली टोलीका तीब्र गतिका बलर र भरपर्दा अलराउण्डर मानिन्छन् । नेपाललाई पहिलो टी २० विश्वकप खेलाउनेदेखि ‘वान डे’ मान्यता दिलाउन कामीको प्रर्दशन निकै महत्वपुर्ण मानिन्छ । उनको नाममा टी २० क्रिकेटमा विश्व रेकर्ड समेत छ । तीव्र गतिको बलिङसँगै तल्लोक्रममा टोलीको आवश्यकता अनुसार ब्याटिङ गर्ने सोमपालले सन् २०१४ मा १० औं नम्बरमा ब्याटिङ गर्दै ४० रन जोडेपछि विश्व रेकर्ड कायम गरेका थिए ।
नेपालबाट वान डेमा ५ विकेट लिने,लिष्ट ए मा ५० विकेट पुरा गर्ने पहिलो बलर समेत हुन् । सोमपाल आईसीसीको टी २० अलराउण्डर बरियतामा पनि ४९ औं स्थानमा छन् । वरियताबाटै पनि उनि कुन स्तरका अलराण्डर क्रिकेटर हुन् भन्ने थाहा हुन्छ । उनले ६ वान डे, १५ टी २० अन्तर्राष्टिय, ४३ लिष्ट ए खेली सकेका छन् । सोमपालले वान डेमा १३, टी २० मा १७ र लिष्ट ए मा ६५ विकेट लिइसकेका छन् ।
सोमपालको प्रर्दशनलाई विदेशी फ्रेन्चाइज टोलीले नजिकबाट नियाल्न थालिसकेका छन् । आगामी दिनमा अन्य नेपाली खेलाडीको तुलनामा सोमपाल छिटो आइपीएल सहित अन्य विदेशी लिग खेल्न सक्ने उच्च सम्भावना देखिन्छ ।
दिपेन्द्रसिंह ऐरी
दिपेन्द्रसिंह ऐरीलाई पारसपछि कप्तानी गर्न सक्ने खेलाडीको रुपमा हेरिएको छ । युवा अलराउन्डर ऐरीले नेपालबाट पछिल्लो दुई वर्षमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । नेपालले वान डे मान्यता पाउन सम्म उनको प्रर्दशन निकै महत्वपूर्ण रह्यो ।
दिपेन्द्रसिंह ऐरी सन् २०१७ मा यू१९ एसिया कप मा भारतलाई हराउँदा दिपेन्द्रले उत्कृष्ट अलराउणन्ड प्रर्दशन गरेका थिए । त्यस खेलमा उनले ८८ रन बनाउनुको साथै ४ विकेट लिएपछि नेपालले भारतमाथि ऐतिहासिक जीत हासिल गरेको थियो । नेपाली फ्रेन्चाइज लिगमा पछिल्लो समय सर्वाधिक रन बनाउने सुचिमा नेपालबाट शीर्ष स्थामा उनको नाम आउने गर्दछ ।
१९ वर्षिय ऐरीले ६ वान डे,४ टी२० र २१ लिष्ट ए खेल खेलि सकेका छन् । पार्ट टाईम स्पिनरको रुपमा मौका पाई रहेका उनले निरन्तर विकेट लिई रहेका छन् । हरेक टोलीको इच्छा उत्कृष्ट अलराउन्डर टोलीमा अनुबन्ध गर्ने हुन्छ । आगामी दिनमा नेपालले खेल्ने अन्तर्राष्ट्रिय खेलमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्न सके दिपेन्द्रले एक अलराउन्डरको रुपमा आइपीएलमा स्थान बनाउन सक्छन् ।
ललितनारायण राजवंशी
गत वर्ष एकदिवसिय विश्वकप छनोटमा जिम्बाबेविरुद्ध डेब्यू गरेका अफ स्पिनर ललितले उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । नेपालबाट समान तीन वान डे टी २० तथा ९ लिष्ट ए खेली सकेका ललितले गत अक्टोबरमा आईसीसी एसिया टी २० विश्वकप छनोट बीमा उत्कृष्ट प्रर्दशन गरेका थिए । नेपाली फ्रेन्चाइज लिगहरुमा उनको प्रर्दशन दमदार छ । त्यस्तै ललितले आगमी दिनमा आफ्नो प्रर्दशन अझ सुधार गर्दै जादा र नेपालबाट उत्कृष्ट प्रर्दशन गरेको खण्डमा आइपीएलमा उनको सम्भावना देखिन्छ ।
सन्दिप जोरा
१७ वर्षिय सन्दिप जोरा आत्माविश्वासका साथ ठूला ठूला शट प्रहार गर्ने गर्दछन् । दुई महिना अघि यूएईविरुद्ध डेब्यूमै अर्धशतक प्रहार गर्दै टी २० क्रिकेटमा सर्वाधिक सानो उमेरमै ५० रन पुरा गर्ने खेलाडीको विश्व कीर्तिमान बनाउँदा उनी थप चर्चामा आए । आगमी दिनमा नेपाली क्रिकेटमा उनलाई फिनिसरको रुपमा पनि हेरिएको छ ।
जोराले नेपालबाट १ वान डे र ३ टी२० खेलमा प्रतिनिधित्व गरि सकेका छन् । जोराको हालसम्मको उमेर समुह, घरेलु क्रिकेट र राष्ट्रिय टिमको प्रर्दनश हेर्दा भविष्यमा स्टार खेलाडीको रुपमा हेरिएको छ । जोराले नेपालबाट उत्कृष्ट प्रर्दशन गर्दै आइपीएल सम्मको यात्रा तय गर्न सक्ने सम्भावना बोकेका युवा खेलाडीको रुपमा देखिन्छ ।
रोहित कुमार पौडेल
हाल यू १९ को कप्तानसमेत रहेका १६ वर्षिय रोहित कुमार पौडेल नेपाली टोलीका भरपर्दा ब्याट्सम्यान हुन् । टोलीको आवश्यकता अनुसार आक्रमक र धैर्यवान दुवै शैलीमा खेल्ने उनी नेपाललाई एक दिवसिय विश्वकप छनोट,वान डे मान्यता र पहिलो सिरिज जिताउन सम्म उनको प्रर्दशन निकै महत्वपूर्ण रह्यो ।
दुई महिनाअघि मात्र रोहितले यूएईसँगको दोस्रो वान डे खेलमा ५५ रन बनाउदै सर्वाधिक सानो उमेरमा अर्धशतक पुरा गर्ने विश्व रेकर्ड कायम गरे । उक्त रेकर्ड कायम गर्दा सचिन तेन्दुलकर, साहिद अफ्रिदी लगात स्टार खेलाडीको रेकर्ड तोड्दै विश्वको ध्यान आफुतिर केन्द्रीत गर्दै थप चर्चाको शिखरमा पुगे । रोहितले झन्डै दुई वर्षअघि यू१९ क्रिकेटमै भारतीय तीव्र गतिका बलर कमलेश नगरकोटीलाई एकै ओभरमा २४ मा रन हान्दै भविष्यमा नेपालको स्टार फिनिसर हुने संकेत देखाएका थिए ।
१५ वर्षकै उमेरमा नेपाली टोलीमा मौका पाएका रोहितले ४ वान डे, १ टी २० अन्तर्राष्ट्रिय र १६ लिष्ट ए खेल खेलि सकेका छन् । आगमी दिनमा अझ कडा मिहिनेत गर्दै आफ्नो प्रर्दशनमा सुधार गर्दै राष्ट्रिय टिमबाट उत्कृष्ट प्रर्दशन गरेको खण्डमा रोहितले आइपीएल खेल्न सक्ने सम्भावना छ ।



लाेकपाटी न्यूज

