काठमाडौं, २० चैत । बैतडी, झापा, पाल्पा, बाँके र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
बैतडीको दशरथ चन्द नगरपालिका–१० बाराकोटस्थित सडकमा से.१ त ७०३७ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ५ मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार कैलाली टिकापुर नगरपालिका–१ बस्ने २४ वर्षीय तपेन्द्र बुढामगरको घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार डडेल्धुरा पर्शुराम नगरपालिका–११ बस्ने २५ वर्षीय गणेश भाटलाई उपचारको लागि जिल्ला अस्पताल बैतडी लगिएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै झापाको दमक नगरपालिका–९ स्थित सडकमा को.८ प ८८९६ नम्बरको मोटरसाइकललाई ना.६ ख ४७१५ नम्बरको ट्रकले मंगलबार दिउसो ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार चुलाचुली गाउँपालिका–६ बस्ने ६२ वर्षीय शुभाष राईको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक चुलाचुली गाउँपालिका–६ बस्ने १८ वर्षीय ओमन राईको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी पाल्पाको रम्भा गाउँपालिका–१ च्याङ्लिङस्थित कच्ची सडकमा ग.१ ख ७६३६ नम्बरको बसको ठक्करबाट सोही गाउँपालिका–१ च्याङ्लिङ बस्ने ६६ वर्षीया हुमकुमारी सारुको मंगलबार दिउँसो मृत्यु भएको छ । स्याङजाको गल्याङबाट रामपुरतर्फ जाँदै गरेको उक्त बसमा सवार सारु बसबाट झरेर बाटो क्रस गर्ने क्रममा बस अगाडि बढ्न गई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ बिशालनगर चोक नजिकै लु ४६ प १२७८ नम्बरको मोटरसाइकलबाट खसेर सोही उपमहानगरपालिका–१८ कारकाँदो बस्ने ७० वर्षीया आमना खातुनको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । बाँकेकै जानकी गाउँपालिका–६ पिपरवा चोक नजिकै नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे.१ ब १३९२ नम्बरको मोटरसाइकल मंगलबार राति आफै अनियन्त्रित भई डिभाईडरमा ठोकिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मुगु सोरु गाउँपालिका–२ बस्ने २५ वर्षीय सुनिल शाहीको नर्सिङहोम अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २७ वर्षीय धनराज मल्लको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ बसामाडीस्थित सडकमा वीरगञ्जबाट धनगढीतर्फ जाँदै गरेको ना.४ ख ३३७५ नम्बरको बसबाट खसेर सहचालक धनुषा जनकपुर उपमहानगरपालिका घर भएका १७ वर्षीय रवि सहनीको मंगलबार साँझ मृत्यु भएको छ । बसको ढोकाबाट खस्न जाँदा सोही बसको पछाडीको चक्काले च्याँप्न गई उनको घटनास्थलमै मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।



लाेकपाटी न्यूज

