काठमाडौं, १९ चैत । बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पताल महाराजगंजबाट खटिएको विशेषज्ञ चिकित्सकसमेतको १९ जना स्वास्थ्यकर्मीहरूको टोलीले मंगलबार निस्शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
बारा फेटा गाउँपालिका–१ भलुही र भवरलिया तथा सोही गाउँपालिका–६ पुरहनियाका हावाहुरी प्रभावित स्थानीयलाई उक्त टोलीले स्वास्थ्य परीक्षण गरी निशुल्क औषधीसमेत वितरण गरेको छ । शिविरमा करिब ३ सय जनाले स्वास्थ्य सेवा लिएको प्रहरी स्रोतले जनाएको छ।
यसैगरी पर्सा वीरगंज महानगरपालिका–२२ जगरनाथपुरस्थित हावाहुरी प्रभावित स्थानीयका लागि उक्त टोलीले निस्शुल्क स्वास्थ्य शिविर संचालन गरी स्वास्थ्य परीक्षण गरेको छ । शिविरमा निस्शुल्क औषधीसमेत वितरण गरिएको छ । सो शिविरमा १ सय ९३ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
स्वास्थ्यकर्मीहरूको टोलीले वृद्ध, अशक्त तथा बालबालिकाहरुलाई सम्बन्धितको घर ठेगानामा समेत गएर स्वास्थ्य सेवा र्पुयाएको प्रहरीले स्रोतले बताएको छ।



लाेकपाटी न्यूज

