काठमाडौं, १८ चैत । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानले गरेको बलिङमा फिक्सिङ भएको आरोपको खण्डन गर्दै भ्रम फैलाउन खोजिएको दाबी गरेको छ ।
दिल्लीका लागि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानले गरेको बलिङमा फिक्सिङ भएको आरोप बाहिर आएपछि बिसिसिआईले खण्डन गर्दै भ्रम फैलाउन खोजिएको दाबी गरेको हो । भारतका युवा विकेटकिपर ब्याट्सम्यमन रिशव पन्तले आइपिएल क्रिकेटअन्तर्गत आइतबार कोलकता नाइटराइडर्सविरुद्धको खेलका दौरान माइक्रोफोनमा बोलेको अडियो भाइरल बनेको थियो ।
दिल्ली क्यापिटल्सका विकेटकिपर पन्तले चौथो ओभरमा बोलेको अडियो क्लिप सम्पादन गरेर बनाइएको भिडियो अहिले समाजिक सञ्जालमा भाइरल बनिरहेको हो । खेलको चौथो ओभरमा पाँचौ बलमा उनले बोलेको कुरालाई सम्पादन गरेर सामाजिक सञ्जालमा राखिएको छ । सो ओभरमा दिल्लीका लागि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानले बलिङ गरेका थिए ।
भिडियो क्लिपमा विकेटकिपर पन्तले यो त चौका हैं भनेको सुनिएको छ । लगत्तैको बलमा सन्दीप लामिछानेलाई कोलकताका ब्याट्सम्यान रोबिन उपथ्पाले चौका हिर्काएका थिए । यो खेलमा दिल्लीले सुपर ओभरमा जितेको थियो । कसैले पनि रिशव पन्तले त्यसअघि र पछि भनेका कुरा पूरा सुनेको छैन । उनले दिल्ली क्यापिटल्सका कप्तान श्रेयस इयरलाई चौका रोक्नका फिल्डर राख्न भनिरहेका थिए, बिबिसिआईका उच्च पदाधिकालाई उद्धृत गर्दै भारतीय समाचार संस्था पिटिआईले लेखेको छ ।
अडियो हटस्टारबाट लिइएको आशंका गरिएको छ हटस्टार आइपिएलको अफिसियल डिजिटल पार्टनर हो। जहाँबाट क्लिप लिएर केहि सम्पादन भिडियो बनाइएको बिसिसिआईले बताएको छ । जुन क्लिपमा अघि र पछिको दृष्य काटिएको छ ।
यो साह्रै दुर्भाग्य हो कि सामाजिक सञ्जालमा अपूर्ण भिडियो राखेर भ्रम फैलाउने काम भइरहेको छ । युवा क्रिकेटरको छवि बिगार्ने उद्देश्यका साथ भिडियो काटेर राख्नु दुर्भाग्य हो । यो घृणित काम हो,’ बिसिसिआईका अधिकारीले भनेका छन् । पन्तले माइक्रोफोनमा बोलेको कुरा भाइरल बनेको यो पहिलो पटक होइन । यसअघि उनले अस्ट्रेलिया भ्रमणका दौरान विपक्षी ब्याट्सम्यानलाई लक्षित गरेर बोलेको अडियो भाइरल बनेको थियो ।



लाेकपाटी न्यूज

