काठमाडौं, १२ चैत । काठमाडौं र बारामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३७ जना घाइते भएका छन् भने कैलाली र धनकुटामा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
काठमाडौंको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलस्थित सडकमा ना.३ ख १४४४ नम्बरको दक्षिणकाली यातायातको बस मंगलबार बिहान आफँै अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा बसमा सवार २२ जना व्यक्तिहरु घाइते भएका छन् । घाइतेहरुमध्ये १० जनालाई वयोधा अस्पताल बल्खु र १२ जनालाई मनमोहन अस्पताल फर्पिङ् उपचारको लागि लगिएको छ ।
त्यस्तै बाराको निजगढ नगरपालिका–७ स्थित भमरा पुल नजिकै सडकमा वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना.७ ख ३३७७ नम्बरको बस मंगलबार बिहान आफैँ अनियन्त्रित भई पलिँ्टदा बसमा सवार १५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये १३ जनालाई उपचारको लागि सामुदायिक प्रसुति अस्पताल निजगढ तथा २ जनालाई गण्डक हेल्थ केयर वीरगञ्ज लगिएको प्रहरीले जनाएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यसैगरी कैलालीको गोदावरी नगरपालिका–९ बल्मीस्थित सडकमा से.३ प ९४२९ नम्बरको मोटरसाइकल र भे.१ ख १४१४ नम्बरको मिनिट्रक एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक डडेल्धुरा नवदुर्गा गाउँपालिका–४ घर भई हाल कञ्चनपुर कृष्णपुर नगरपालिका–४ बस्ने ५० वर्षीय तेजबहादुर रावल र मोटरसाइकलमा सवार ६० वर्षीय बीरबहादुर रावलको सेती अंचल अस्पताल धनगढीमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनकुटाको महालक्ष्मी नगरपालिका–१ नुनथलास्थित सडकमा सोमबार राति को.२ त ३१६६ नम्बरको रड बोकेको ट्याक्टरको ट्रली र इन्जिनको भाग छुट्टिन गई भिरमा खस्दा ट्याक्टरमा सवार छथर जोरपाटी गाउँपालिका–५ बस्ने ३० वर्षीय जितन घिमिरेको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका सोही ट्याक्टरमा सवार सोही स्थान २९ वर्षीय रत्नबहादुर गुरुङलाई उपचारको लागि घोपा अस्पताल धरान पठाइएको छ। दुर्घटनाका सम्बन्धमा स्थनीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।


लाेकपाटी न्यूज

