साल्ट ट्रेडिङ्गको ५२ औं वार्षिक साधारणसभा सम्पन्न

IMG_5892
लाेकपाटी न्यूज

काठमाडौं, १२ चैत । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५२ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। उक्त सभाले आर्थिक वर्ष २०७४÷०७५ मा भएको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । उक्त वर्ष कर्पोरेशनले कुल मुनाफा रु. १ अर्ब १० करोड ८१ लाख आर्जन गर्न सफल भएको थियो ।

कर्पोरेशनको सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आ.व. २०७४।०७५ मा रु. ९ अर्ब ६९ करोडको कारोवार गर्न सफल भएको बताए। अघिल्लो वर्ष रु. ८ अर्ब ५८ करोडको कारोवार भएको थियो। कर्पोरेशनले यस वर्षको शुरुको ७ महिनाको कारोवारतर्फ माघ मसान्तसम्म रु.४ अर्ब ७९ करोड व्यावसायिक कारोवार गरेको उनले जानकारी दिए ।

अध्यक्ष मानन्धरले कर्पोरेशनले नेपाल सरकारको निर्देशन पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्नु परेकाले कुनै वस्तुमा लागत मूल्य भन्दा कम मूल्यमा सामान बिक्री गर्नु परेकोले अपेक्षित रुपमा मुनाफा आर्जन गर्न नसकेको बताए।

नेपाल सरकारले अनुदानमा बिक्री वितरण गर्ने रासायनिक मल चालु आ.व. २०७५।०७६ को कुल रकमको कर्पोरेशनलाई प्राप्त हुने ३० प्रतिशत रकमबाट युरिया २०,००० मेट्रिक टन, डिएपी २०,००० मेट्रिक टन र पोटास २५०० मेट्रिक टन आयात भइसकेको र बाँकी परिमाण यसै आ.व.को अन्त्यसम्ममा आयात भइसक्ने अध्यक्षले जानकारी गराए ।

कर्पोरेशनका प्रमूख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले चिनी आयातमा भएको व्यवधानबारे जानकारी गराउदैं देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्धी बजार समेत यथावत नै रहेको यस्तो कठिन परिस्थितिमा पनि कर्पोरेशनले विश्वसनीय र गुणस्तरीय सेवा पुर्‍याउँदै आफ्नो कारोवारमा सकारात्मक सुधारसहित अगाडि बढेको बताइन्। व्यावसायिक मर्यादा कायम राख्दै र सामाजिक उत्तरदायित्वको मर्मलाई सम्मान गर्दै कर्पोरेशनले देशका आम नागरिक एवं उपभोक्ताहरुलाई उच्च गुणस्तरको वस्तुहरु उचित मूल्यमा वर्षभरी उपलब्ध गराउनेतर्फ प्रतिबद्ध रही कार्य गरिरहेको श्रेष्ठले जानकारी दिइन् ।

कर्पोरेशनले भूकम्प प्रतिरोधात्मक प्रविधिको घर निर्माण गर्ने उद्देश्यअनुसार कर्पोरेशनको समेत लगानीमा फ्यूचर वर्कस् विल्डिङ्ग सोलुसन प्रा.लि. कम्पनी स्थापना गरी निर्माण सामग्रीको उत्पादन शुरु गरेको छ भने कर्पोरेशनको सहायक कम्पनी उपहार हाउजिङ्ग कम्पनी लिमिटेडले उक्त प्रविधिको घरहरु निर्माण गरी बिक्री गर्ने उद्देश्यअनुरुप चन्द्रागिरी नगरपालिकास्थित आफ्नै जग्गामा सो कार्यको थालनी गरेको छ ।

त्यसैगरि कर्पोरेशनले ५२ औं वार्षिक साधारणसभा माझ सम्पन्न निर्वाचनबाट संचालक समितिको चयनसमेत गरेको छ । उक्त निर्वाचनबाट लक्ष्मीदास मानन्धर, प्रदिप लाल श्रेष्ठ, कल्याण गोविन्द श्रेष्ठ, किर्ती कुमार जोशी, अतुल मल्ल, अन्जन श्रेष्ठ र राजेन्द्रमान श्रेष्ठ संचालक समितिको सदस्यमा निर्वाचित भएका छन् । नवनिर्वाचित संचालक समितिले लक्ष्मीदास मानन्धरलाई अध्यक्षमा चयन गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्