भौतिकवाद के हो, कम्युनिष्टहरु किन नास्तिक हुन्छन् ? (बहस)

communism
लाेकपाटी न्यूज

एक जना युवा पाठकले ‘कम्युनिष्ट अर्गनाइजेशन फर फोर्थ ईन्टरनेशनल’को संकल्पको बारेमा लिग फर द रिभोलुशनरी पार्टीलाई आफ्नो ईश्वरप्रतिको धारणा समेटेर आफू पार्टी सदस्यता लिन चाहेको कुरा व्यक्त गरी एउटा पत्र लेखे। पछि लिग फर द रिभोलुशनरी पार्टीले त्यसको प्रतिउत्तरमा लामो पत्र लेखेको थियो। प्रश्न र उक्त दुवै ‘प्रोलेटेरियन रिभोलुशन’को अंक ६६ मा सन् २००३ मा प्रकाशन गरिएको थियो । यसको सम्पादित र अनूदित अंश यहाँ दिइएको छ ।

युवाकाे प्रश्न : मैलै कम्युनिष्ट अर्गनाइजेशन फर फोर्थ ईन्टरनेशनलको राजनीतिक संकल्प पढें। एउटा कुराबाहेक म पूर्ण रुपमा पार्टीभित्र फिट हुन्छुजस्तो देखिन्छ। तपाईंलाई अरु बढी चिढ्याउनुभन्दा पहिला मैले यो सोध्नपर्छ कि यदि मैले ईश्वरमा विश्वास गर्छु भने पार्टीमा प्रवेशका लागि स्वीकार्य हुन्छु की हुँदिन ? म विश्वास गर्छु कि मलाई अनुमति दिइनुपर्छ र त्यसका लागि म आफ्ना केही तर्कहरु प्रस्तुत गर्छु।

म निश्चित रुपमा बुझ्छु कि सबै प्रमुख धर्महरु र तीभित्रका सम्प्रदायहरु इतिहासभरि नै यथास्थितिवाद र शासक वर्गको पूँजीलाई जोगाई राख्ने काम गरेका छन्। म यो पनि बुझ्छु कि धार्मिक असहनशीलता र अत्याचारले शोषित मजदुर वर्गलाई इतिहासभरि नै विभाजित गर्नमा प्रभावकारी भूमिका खेलेको थियो। तथापि, मेरो ईश्वरप्रति विश्वासको धर्मसँग कुनै लेनादेना छैन।

खासमा, धार्मिक पाठको बारेमा तलदेखि माथिसम्म विचार गर्दा म यो निष्कर्षमा आइपुगेको छु कि साम्यवाद नै त्यो चीज हो, जसका लागि हामी लड्नुपर्छ। रोवर्ट मकाकी ब्राउनले ‘अनएक्सपेक्टेड न्युज’ नामको किताब लेखेका छन्, जसमा उनले आधुनिक अमेरिकी धनाढ्यलाई इंकित गर्दै ईश्वर हाम्रो पक्षमा छैनन् भन्ने आशय व्यक्त गरेका छन्। उनले कसरी बाइवलको मूख्य विचार धर्म होइन, बरु, त्यो वर्गसङ्घर्ष हो भनेर व्याख्या गरेका छन्।

उनी व्याख्या गर्छन कि यदि बाइवलको प्रचलनले सत्यलाई पकड्ने हो भने विश्वका शोषित वर्ग निश्चित रुपमा उठ्नुपर्छ, आफ्ना शोषकहरुलाई परास्त गर्नुपर्छ र ईश्वर तिनीहरुको पक्षमा हुनेछन्। यो अनुभूत नहुनुको एकमात्र कारण भनेको धार्मिक पदानुक्रम भित्रका ठालु शासक वर्ग र पूँजीवादी चर्चहरुका प्रवचकहरुले पूँजीवादलाई ठाउँ दिनका लागि पाठका भागहरुको अल्प व्याख्या र अति व्याख्या गर्नु हो।

अन्त्यमा, म यो कुरा बताउन चाहन्छु कि ईश्वरको कुनै सच्चा अनुयायीले धार्मिक अन्तरको बारेमा अथवा मानिसलाई कुनै खास धर्ममा परिवर्तन गर्ने कुरामा केन्द्रित हुनु हुँदैन भन्ने कुरामा म विश्वास गर्छु। तिनीहरुले मानिसलाई साम्यवादमा परिवर्तन गर्न लगाउनुपर्छ, कुनै व्यक्ति जो सच्चा, स्थायी सर्वहारा क्रान्तिको विरुद्धमा छ भने ईश्वरको सच्चा अनुयायी हुँदैन।

पत्रको अन्त्यमा म के भन्न चाहन्छु भने धार्मिक पूजामा कुनै पनि स्रोत आवश्यक हुनु हुँदैन। धार्मिक पूजाले मानिसबाट कुनै पनि स्रोत लिनु हुँदैन। मेरो विश्वासले पार्टीमा मेरो प्रवेशलाई अवरोध गर्छ जस्तो मलाई महशुस हुँदैन। ईश्वरले प्रेम र न्यायमा सम्पूर्ण मानवताको एकत्व चाहन्छन्। म क्रान्तिमा जोडिन चाहन्छु र यो मेरो विश्वासको कारणले गर्दा हो। कृपया मलाई प्रवेश गर्ने अनुमति दिनुहोस्, धन्यवाद !

एल.आर.पी.को जवाफ : हाम्रो संगठनमा जोडिने चाहना अभिव्यक्त भएको तपाईंको पत्रका लागि धन्यवाद। हामी खुसी छौं कि तपाईले आफ्नो ईश्वरप्रति विश्वासको कुरा उठाउनुभयो। किनकि यो महत्वपूर्ण छ र हामी खुल्ला र विस्तृत रुपले छलफल गर्न चाहन्छौं। तपाईलाई सायद थाहा होला, हामी अनिश्वरवादी र भौतिकवादी हौं।

तपाईले स्वीकार गरेका तथ्य सामान्य रुपमा धर्मले शासक वर्गलाई सहयोग गर्छ भन्ने कुरा महत्वपूर्ण छ। सुरुवातमा, हामीले सामान्य रुपमा ईश्वरमा विश्वास गर्ने मानिसलाई संगठनमा स्वीकार गर्दैनौं भन्ने कुराको व्याख्या गर्न चाहन्छौ। म तपाईलाई ईश्वरको विश्वासको विपक्षमा केही तर्कहरु दिन चाहन्छु। मलाई विश्वास छ तिनीहरुले तपाईको ईश्वरप्रतिको आस्थालाई पुनरावलोकन गर्न केही कारणहरु दिनेछन्।

हाम्रो संगठनको आधारभूत सिद्धान्त भनेको चेतनाको अवधारणा हो। र, विशेष रुपमा वर्गीय चेतना हो। क्रान्तिकारी सर्वहारा चेतना वर्ग सङ्घर्षको आफ्नै उत्पादन हो भन्ने कुरामा विश्वास गर्छौं। जबकि अरुहरु भावनासँग जोडिएका हुन्छन्। अझै कसैले त क्रान्तिकारी सिद्धान्त प्रतिवादन गरेका नै हुन्छन् र यो जस्ता पत्रहरु आम मजदुर वर्गको सङ्घर्षप्रति ऋणि हुन्छन्, आम मजदुरहरुको लागि, जो वर्गीय अग्रदस्तामा सामेल हुन्छन्, यो बढी प्रत्यक्ष रुपमा तिनीहरुको तीव्र वर्गसङ्घर्षमा हासिल आफ्नै अनुभवद्धारा हुन्छ। वास्तवमा यो एउटा नैतिक प्रतिवद्धता हो। तर, वर्गीय स्वार्थहरुद्धारा निर्मित र निर्धारित नैतिकता।

क्रान्तिकारी राजनीतिलाई यो बाटोबाट हेर्नु आवश्यक छ र आम्रो संगठनलाईं मजदुर वर्गको संस्थाको रुपमा हेर्नु पनि उत्तिकै महत्वपूर्ण छ। हाम्रो अरु वाम संगठनहरुसँगको टकरावको आयाममा उनीहरुको क्रान्तिकारी विचार मजदुर वर्गभन्दा बाहिरबाट आइरहेछ भन्ने हो, तिनीहरुको सवालमा ईश्वरबाट होइन, उग्रवुर्जुवा बौद्धिकहरुबाट। यो दुवै कुराले मजदुर वर्गप्रति नियन्त्रणकारी प्रवृत्तिलाई प्रतिविम्वित गर्छन् र पूनः जोड दिन्छन्। यसले मजदुर वर्गलाई उनीहरुको आफ्नै वस्तुगत शक्तिको विरुद्धमा आधारभूत शक्ति अन्य स्रोत (वौद्धिकहरु, ईश्वर, आदि) बाट खोज्न भन्छ। यो क्रान्तिकारी चेतनाको आवश्यक विकासको विरुद्धमा उभिन्छ।

यी सबै चीजले वर्गसङ्घर्ष र हाम्रो संगठनको अवस्थालाई दिइएको महत्वलाई बढावा दिन्छ। हामी मजदुर वर्गको अग्रदस्तासम्वद्ध विशाल कार्यभार भएको सानो प्रोपोगाण्डा अर्गनाइजेशन हौं। यसलाई वर्गसङ्घर्षमा सुसङ्गत र अनुशासित ढङ्गको हस्तक्षेप आवश्यकता छ, जुन प्रभावकारी र लोकतान्त्रिक बनाउनको लागि सदस्यताद्धारा एउटा सामूहिक मूल्य र राजनीतिक दृष्टिकोणको सुदृढ समूह बनाउनु हो। सङ्घर्षका र संगठनका विभिन्न चरणहरुमा जब आम मजदुरहरु क्रान्तिकारी गतिका साथ बढिरहेका हुन्छन्, धार्मिक आस्थासँग सम्वन्धित यस्ता भर्तिका मापदण्डहरु खुकुलो हुन सक्छन्। तर, त्यसपश्चात् पनि पार्टीको आफ्नै कार्यक्रम चाहिँ सैनिक नास्तिकता नै रहनेछ।

अवश्य पनि सँगसँगै काम गर्नका लागि प्रत्येक विन्दुमा मानिसहरु हामीसँग सहमत हुनुपर्छ भन्ने कुराको पनि माग राख्दैनौं। हामीले महशुस गरेका छौं कि यहाँ धेरै तहको चेतना स्तर हुन्छ। मानिस सबै तहका अवस्थाहरुबाट गुज्रनुपर्छ। त्यसैले अहिलेका लागि जनताको ठूलो भागलाई, जो ईश्वरमा विश्वास गर्छन्, यी सबैलाई हाम्रो पार्टीमा सामेल गराउन त्यति उपयुक्त हुँदैन। यो विशेष गरेर तपाईको जस्तो सवालमा सही हुन्छ। जसमा तपाई महशुस गर्नुहुन्छ कि तपाईको ईश्वरप्रतिको विश्वास वास्तवमा क्रान्तिका प्रति लड्ने चाहना तपाईको तर्कहरुको केन्द्रविन्दु हो।

अब म तपाईलाई ईश्वरको अवधारणाको सम्वन्धमा केही आधारभूत विचारहरु व्यक्त गर्न चाहन्छु। पहिला तपाईकै विचारबाट शुरु गरौं, ‘कुनै व्यक्ति, जो सच्चा, स्थायी सर्वहारा क्रान्तिको विरुद्धमा छ भने ईश्वरको सच्चा अनुयायी हुँदैन र ईश्वरले प्रेम र न्यायमा सम्पूर्ण मानवताको एकत्व चाहन्छन्।’ यी विचारहरु इश्वरको प्रकृति र स्वरुपको बारेमा तपाईका आफ्नै व्यक्तिगत धारणा हुन्। तपाईको यो धारणाको स्रोत के हो ? यदी तपाईसम्म स्वयं ईश्वर आफैबाट रहस्योद्घाटन भएको भएता पनि आधारभूत विषय त साच्चिकै तपाईको सांसारिक अनुभवबाट आउने हो, विशेषगरि सामाजिक अनुभवको रुपमा र तपाईको प्रतिक्रिया साथै अन्तर्क्रियाहरु, जसले तपाईलाई वर्गीय उत्पीडनका विरुद्ध लड्ने चाहनासम्म ल्याई पुर्‍याएका छन्।

ईश्वरको कुनै पनि धारणाको विषय, यदी यसको अनन्त वा सर्वशक्तिमान वा सर्वमान्यजस्तो धेरै अमूर्तभन्दा वाहेक कुनै खास अर्थ हुने हो भने त्यो विश्वास गर्नेको आफ्नै सांसारिक अनुभवबाट आएको हुनुपर्छ। उदाहरणका लागि, विश्वास गर्नेले के सोच्न सक्दछ भने यदि ईश्वर अनन्त छन् भने ईश्वर पूर्ण हुनुपर्छ, यदि पूर्ण छन् भने ईश्वर असल हुनुपर्छ, यदि ईश्वर असल छन् भने ईश्वरले मैले असल हुन् भनेर जान्ने कुरालाई समर्थन र मैले खराव हुन् भनेर जान्ने कुरालाई विरोध गर्नुपर्ने तर मैैले असल र खराव हुन् भनेर जान्ने कुरा मेरो अनुभवबाट आउछन्, न कि ईश्वरको रहस्योद्घाटनबाट। तसर्थ, आस्तिकले आफूभित्रै उत्पन्न भएका सबै प्रकारका पद्दतिहरुलाई ईश्वरको धारणाभित्र लगेर प्रविष्ट गर्छ।

त्यसैगरि अझ बढी अमूर्त रुपमा परम चेतनाको रुपमा ईश्वर भनेको मानवीय चेतनाको प्रक्षेपण हो। मानव मस्तिष्क संसारलाई बुझ्न र व्याख्या गर्न खोज्छ। वैज्ञानिक विकास हुनुभन्दा अगाडि धेरैथरिका रचना र मिथकहरुले विभिन्न किसिमका बिम्वहरुमार्फत कसरी संसार सुरु भयो भन्ने व्याख्या गर्छन्। केही घटनाहरुमा रचना भनेको जन्म दिने विचार जस्तै हो। अरु स्थितिमा बिम्व औजार बनाउने मानव कार्यबाट लिइन्छ। मान्छेले औजारहरु बनाएजस्तै ईश्वरले विश्व बनाए, आदि।

ईश्वरको कुनै खास अवधारणा निश्चित रुपमा समाजको वास्तविक रुपबाट निसृत हुन्छ। प्रायः ईश्वरलाई पिताको रुपमा लिइन्छ, कहिलेकाहीँ माताको रुपमा लिइन्छ। यदि कसैको पारिवारिक जीवनको मोडल भविष्यमा सहिष्णु, मायालु लालनपालन गर्ने अभिभावक प्राप्त गर्नुमा आधारित छ र जसको मुख्य उद्देश्य सन्तानलाई भविष्यमा त्यस्तै अभिभावकको रुपमा तयार पार्ने हुन्छ भने त्यहाँ ईश्वर बाबू र आमाको रुपमा उस्तै–उस्तै शब्दहरुमा देखिन्छ। यदि कसैको परिवारको मोडल कडा अभिभावकमा आधारित छ, जसले सन्तानलाई अनुशासनको माध्यामबाट कडा नियम पालन गर्न लगाई हुर्काउँछ भने ईश्वरलाई दैविक रुपमा प्रदान गरिएका कानूनहरुप्रति कडा आज्ञाकारिता माग गर्ने र कानून तोड्ने उपर दण्डात्मक हुन्छन् भन्ने रुपमा हेरिन्छ। अझै पनि धारणा सामाजिक वास्तविकताबाट निसृत हुन्छ र सामाजिक वास्तविकता ईश्वरको प्रवृत्ति वा स्वरुपबाट आउने होइन।

ठीक छ, फरक दिशाबाट सोचौं, किन ईश्वर हुनुपर्छ भन्नेबारे सामान्य मध्येको एउटा तर्क के हो भने ब्रह्माण्डको चरित्रले व्याख्याको रुपमा रचनाकारको माग गर्छ भन्ने हो। उदाहरणका लागि ब्रह्माण्डमा अनुुमान गर्न सकिने कार्यकारण सम्वन्ध भनेको ‘सुरुवाती कारण’ आवश्यक पर्छ भन्ने तथ्य हो। यदि तपाईले पश्चिमा दर्शनका केही क्लासिकहरु पढ्नुभएको छ भने यस प्रकारको तर्कलाई डेभिड ह्युमले गरेको चर्चित खण्डन पक्कै पढेको हुनुपर्छ। यस प्रकारको व्याख्याले वास्तवमा केही पनि व्याख्या गर्दैन। कार्य कारण सम्वन्धलाई रहस्यको भर्‍याङ चढाएर व्याख्या गरिन्छ। त्यहाँ पहिलो कारणको व्याख्या नै हुन सक्दैन। धर्मशास्त्रीहरु ब्रह्माण्डको कसरी उत्पत्ति भयो वा ब्रह्माण्ड किन पहिलो अवस्थामा अस्तित्वमा आयो भन्ने कुरा विज्ञानले व्याख्या गर्न सक्दैन भनेर भन्न मन पराउँछन्।

यो सत्य हो कि विज्ञानले त्यस्तो व्याख्या उपलब्ध गराउन सक्दैन न त त्यो धर्मशास्त्रले नै सक्छ। धर्मशास्त्रको यस्तो प्रश्नको व्याख्या गर्ने प्रयत्नले सधैै प्रश्न माग्छ, नयाँ रहस्य बनाउँदै रहस्यलाई व्याख्या गर्छ। ईश्वरको कल्पनालाई समर्थन गर्ने र भौतिकवादको विरुद्धमा व्यापक रुपमा प्रयोग गरिएको अर्काे तर्क के हो भने हामीले अनुभव गरे जसरी चेतना विशुद्ध भौतिक प्रक्रियाद्धारा व्याख्या गर्न सकिँदैन। पश्चिमा दर्शनका अर्का महान दार्शनिक रेने डेकार्ड भन्छन्, ‘जतिसुकै परिस्कृत मेसिन भए पनि हामीलाई थाहा छ कि योसँग कहिल्यै पनि दिमाग हुन सक्दैन।’ उनले निष्कर्ष निकाल्छन् कि दिमाग वस्तु (Substance) बाट बनेको हुनुपर्छ, जुन पदार्थ (Matter) बाट फरक हुन्छ। यसले उनलाई द्वैतवादको बन्द गल्लीमा पुर्‍याइदियो। जसले भन्छ, हामी दुई विल्कुल भिन्न वस्तुहरुबाट बनेका छौं। एउटा मानसिक वा आध्यात्मिक र अर्काे भौतिक वस्तु।

यो बन्द गल्ली हुनको कारण यो हो कि यदि यी दुई वस्तुहरु एक अर्काेबाट बेखबर छन् भने त्यहाँ ती वस्तुहरुबीचको अन्तक्र्रियाको व्याख्या गर्ने त सवाल नै रहँदैन। अन्त्यमा डेकार्ड भौतिक वस्तु (शरिर) र मानसिक वस्तु (आत्मा) बीचको अन्तक्र्रिया ईश्वरको गतिविधिमार्फत् हुन्छ भन्ने कुरा भन्न बाध्य भए। तसर्थ, चेतनालाई भौतिक प्रक्रियाद्धारा व्याख्या गर्न सकिँदैन भन्ने दृष्टिले हामीलाई व्याख्याको अर्काे उदाहरणमा पुर्‍याउँछ, जसले साँच्चिकै केही पनि व्याख्या गर्दैन। यसले रहस्यलाई नयाँ पोशाकमा देखाउने काम मात्र गर्छ।

केही धर्मशास्त्रीहरुले भन्न सक्छन्, यी आध्यात्मिक विचारहरुले खासै केही व्याख्या गर्दैनन, जसरी विज्ञानले व्याख्या गर्ने गर्छ। तर, यी धर्मशास्त्रीहरुले भन्छन् कि यी आध्यात्मिक विचारहरुले ‘अत्यावश्यक रहस्य’का लागि ठाउँ दिन्छन्, जसलाई उनीहरु ‘यथार्थको केन्द्र’ भनेर दावी गर्छन्। हाम्रो प्रतिक्रिया के हुन्छ भने निश्चित रुपमा यो सत्य हो कि मानव स्वभावजस्तै अन्य धेरै स्वभावहरुमा समस्याहरु छन्, जसलाई विज्ञानले अहिलेसम्म व्याख्या गर्न सकेको छैन। यसले अझै किन ब्रह्माण्ड अस्तित्वमा छ भनेर पूर्ण रुपमा व्याख्या गर्न सकेको छैन। धेरै समकालीन दार्शनिकहरु भन्छन्, केही प्रश्नहरु जस्तै किन केही चीजको अस्तित्व छ आदि अर्थहीन प्रश्नहरु हुन्, जसको कुनै सम्भाव्य उत्तरलाई अनुभवद्धारा परीक्षण गर्न सकिँदैन।

तर, धेरै प्रश्नहरु जसलाई मान्छेहरु उत्तर दिन नसकिने भन्थे ती प्रश्नहरुको उत्तर विज्ञानले दिइसकेको छ। उदाहरणका लागि विकासवादी सिद्धान्त सम्वन्धि लगाइएका केही आरोपहरुको उत्तर नयाँ सवुतसहित दिई सकिएको छ। चेतना र संज्ञानको क्षेत्रमा विगत २० वर्षमा स्नायुविज्ञहरु र संज्ञानात्मक वैज्ञानिकहरुले मानव मस्तिष्कको खोजमा ठूलो विकास गरेका छन्। विज्ञान सम्पूर्ण चिजहरुको व्याख्या गर्न असमर्थ होला। तर, फेरि पनि प्रकृतिको कुनै पक्षको बारेमा विज्ञान यो विन्दुभन्दा अगाडि विकास गर्न सक्दैन भनेर रेखा खिच्नुको कुनै पनि तुक छैन। रहस्यको क्षेत्र कायम गर्नुको मूल्य हुन्छ। जसभन्दा अगाडि मानव मस्तिष्क जानु हुँदैन भन्ने विचार वास्तवमै प्रतिक्रियावादी विचार हो, त्यसले वैज्ञानिक र प्राविधिक उन्नतिको विरोध गर्ने कुत्सित स्वार्थ भएकाहरुलाई सहयोग गर्छ। त्यो भनेको शासक वर्गमा हुने सबैभन्दा धेरै प्रतिक्रियावादी तत्व हो।

अन्त्यमा तपाईले सोध्न सक्नुहुन्छ यदि कसैले ईश्वरको अवधारण स्वीकार गर्न सक्दैन भने उसले कसरी थाहा पाउँछ कि त्यहाँ ईश्वर हुँदैन भनेर ? किन अनिश्वरवाद, अज्ञेयवाद (ईश्वर हुन पनि सक्छन्। तर, ईश्वरको स्वरुपको बारेमा थाहा पाउने कुनै पनि बाटो छैन भन्ने विचार) को विरोधी विचारको रुपमा हुन्छ। फ्रेडिरिक एंगेल्सले अज्ञेयवादलाई बदनाम अनुहार भएको अनिश्वरवाद भनेर चित्रण गरेका छन्। अर्काे शब्दमा जहाँ धार्मिक विचारमा सामाजिक प्रभाव हुन्छ, सामाजिक रुपमा अज्ञेयवाद बढी स्विकार्य हुन्छ।

अज्ञेयवादको समस्या के हो भने अनिश्चिताको दलदलको रुपमा ईश्वरको अवधारणा सार्वजनिक भयो भने यसको अस्तित्वको सम्भावनाको बारेमा दावा गर्नुको कुनै तुक हुँदैन। केही अस्तित्वमा हुनुपर्छ, ईश्वरको स्वरुपमा। त्यसको अर्थ के हो कुनै पनि प्रस्ताव सत्य हुनका लागि त्यसको अर्थ हुनु आवश्यक छ। एउटा प्रस्ताव, जुन सत्य पनि हुन सक्छ। तर, कहिले प्रमाणित भएको छैन भने त्यसको कुनै प्रायोगिक अर्थ हुँदैन।

वास्तवमा तपाईका आस्थाहरु मेरो आफ्नै धार्मिक विचारसँग धेरै मेल खान्छन्। म आधारभूत रुपमा प्रोटेस्ट्यान्ट परिवारमा हुर्केको हुँ। समयसँगै यो आस्थाका आधारशीलाहरुलाई पछाडि छाड्दै गएँ। तर, तपाईको उमेरसम्म र उस्तै उस्तै परिस्थितिहरुमा मसँग ईश्वरको अमूर्त अवधारण थियो, मार्क्सवादका आधारहरुसँग यसलाई मिलाउने प्रयत्न गर्दा मार्क्सवादसँग नजिक हुन पुगें। म आफ्नै धर्म बनाउने नतिजासम्म पनि पुगेको थिएँ। म आफ्ना धार्मिक आस्थाहरुलाई त्यागेको समयमा अहिलेको अन्तर्दृष्टिमा आइपुगेको हुँ।

मलाई आशा छ, यी सोचहरु तपाईलाई फाइदाजनक नै हुनेछन्। तपाईले भन्नुभएको छ कि ‘मेरो ईश्वरप्रतिको विश्वासको धर्मसँग कुनै लेनादेना छैन।’ यसबाट मैले बुझेअनुसार तपाई परम्परागत अर्थमा दृढनिश्चयी धार्मिक हुनुहुन्थ्यो। कुनै पनि स्थितिमा हामी यी प्रश्नहरु उपर छलफल गर्न सक्छौं। यदि तपाईले ईश्वरप्रतिको विश्वास त्याग्न सक्दिनँ भन्ने कुरा थाहा पाउनुभयो भने पनि त्यस्तो कुनै कारण छैन कि हामीले साझा राजनीतिक मुद्दाका लागि सँगसँगै लड्न सक्दैनौं भन्ने। मलाई विश्वास छ, तपाईले बुझिसक्नु भयो कि हाम्रो संगठनको प्रकृति, स्वरुप र कार्यहरुले गर्दा तपाईले जबसम्म ईश्वरप्रतिको विश्वास कायम राख्नुहुन्छ, तबसम्म यो संगठन तपाईका लागि उपयुक्त हुँदैन।

(विष्णु अधिकारीले अनुवाद गरेको यो लेख हामीले हुलाकी डटकमबाट साभार गरेका हौं–सम्पादक।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्