एजेन्सी । पोर्चुगल तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो फुटबल इतिहासका एक महान खेलाडी हुन् । उनको खेल कौशलले विश्वका फुटबल प्रेमीलाई रोमान्चित बनाउन छोडेको छैन ।
उनी क्लबलाई अत्यावश्यक परेका बेला जादुयी प्रदर्शन गर्ने गुणले पाख्त छन् । रोनाल्डोले विश्व फुटबल इतिहासमा थुप्रै रेकर्डहरु बनाएका छन् । उनी च्याम्पियन्स लिगका उत्कृष्ट खेलाडी पनि हुन् । उत्कृष्ट हेड गोल र पेनाल्टी प्रहार गर्न सक्ने क्षमता भएका रोनाल्डोले च्याम्पियन्स लिग, ला लिगा र प्रिमियर लिग जस्ता लिगहरुमा पनि थुप्रै रेकर्डहरु बनाएका छन् ।
रोनाल्डोले हालसम्म बनाएका रेकर्डमध्ये केही यस्ता रेकर्डहरु पनि छन्, जुन रेकर्डलाई बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले पनि बिट गर्न सकेका छैनन् । मेस्सीले ब्रेक गर्न नसकेका रोनाल्डोका पाँच रेकर्ड यस्ता छन् ।
लगातार ६ सिजनमा ५० भन्दा धेरै गोल
रोनाल्डोले लगातार ५ सिजनमा ५० भन्दा धेरै गोल गरेका छन् । उनी सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा स्थापित छन् । रोनाल्डोले सन् २०१०-११ को सिजनदेखि २०१५-१६ को सिजनसम्म लगातार ५० भन्दा धेरै गोल गरेका हुन् । रोनाल्डोले २०१०-११ को सिजनमा ५३, २०११-१२ः ६०, २०१२-२०१३ः ५५, २०१३-२०१४ः ५१, २०१४-२०१५ः ६१ र २०१५-२०१६ सिजनमा ५१ गोल गरेका छन् ।
दुई क्लबबाट मुख्य अवार्ड
पाँच पटकका बालोन डी ओर विजेता रोनाल्डोले दुई ठूला क्लबबाट मुख्य अवार्ड हात पारी सकेका छन् । उनले म्यान्चेस्टर युनाइटेडमा रहँदा र रियल मड्रिडमा रहदा बालोन डी ओर पनि जित्न सफल भएका थिए । रोनाल्डो हाल युभेन्ट्समा रहँदा पनि उत्कृष्ट फर्ममा छन् ।
च्याम्पियन्सको ६ सिजनमा लगातार सर्वाधिक गोलकर्ता
रोनाल्डो च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन् । उनले हालसम्म च्याम्पियन्स लिगमा १ सय २४ गोल गरिसकेका छन् । साथै रोनाल्डोले सन् २०१२-१३ देखि २०१७-२०१८ सम्मका सबै सिजनमा सर्वाधिक गोल गरेका छन् । रोनाल्डोले २०१३-१४ को सिजनमा गरेका १७ गोल च्याम्पियन्स लिगमा हालसम्म एउटै सिजनमा एउटा खेलाडीले गारेको सर्वाधिक गोल हो ।
लगातार तीन सिजन च्यम्पियन्स लिग विजेता
रियल मड्रिडका पूर्व खेलाडी रोनाल्डोले आफ्नो क्लबलाई लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधि जिताउन सफल भएका थिए । रोनाल्डो रियलमा रहँदा सन् २०१५–१६ को सिजनदेखि २०१७–१८ को सिजनसम्म च्याम्पियन्स लिगको उपाधि उचालेका थिए ।
फरक दुई देशका दुई लिग जित्न सफल
रोनाल्डोले आफ्नो टिमलाई फरक दुई देशका मुख्य लिगहरु जिताउन सफल भएका छन् । उनी एक इटालियन क्लब युभेन्ट्समा भने सिरी एको जित नजिक छन् । रोनाल्डो इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट सन् २००८ को सिजनमा प्रिमियर लिग जिताउन सफल भएका थिए भने सन् २००९ को सिजनमा रियल मड्रिडलाई ला लिगा जिताउन सफल भएका थिए । उनले सिरी ए जिताउने लगभग पक्का छ । किनभने युभेन्ट्स दोस्रो स्थानको नेपोली भन्दा १५ अंकले अघि छ । लिगमा अब जम्मा १० खेल बाँकी छन् ।



लाेकपाटी न्यूज

