सवारी दुर्घटनामा ४ को मुत्यु ३६ घाइते

nepal-police
लाेकपाटी न्यूज

काठमाडौं, १० चैत । मोरङ, सर्लाही, बाँके र कपिलवस्तुमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।

मोरङको सुन्दरहरँैचा नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गमा बा ५ ख ३५४ नम्बरको माइक्रोबस आइतबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा माइक्रोबसमा सवार सुनसरी धरान बस्ने १३ वर्षीय सबिन मग्रातीको घटनास्थलमै मृत्यु भएको छ । सोही नगरपालिका–८ बस्ने १४ वर्षीय सुमन रम्तेल समेत २ जना घाइते भएकोले उपचारको लागि बिराट नर्सिङहोम बिराटनगर लगिएको छ । हातमा सामान्य चोट लागेकामा बस चालक मोरङ पथरी शनिश्चरे नगरपालिका–९ बस्ने २९ वर्षीय रमेश बस्नेतलाई स्थानीय मेडिकलमा उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मोरङकै सुनवर्षी नगरपालिका–६ स्थित सुनवर्षी चोकमा को १ ख ५५६० नम्बरको यात्रुवाहक बस शनिबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार १३ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि रंगेली अस्पताल रंगेली लगिएकोमा रतुवामाई नगरपालिका–६ बस्ने ३० वर्षीया बिल्खीदेवी सहनीलाई गोल्डेन अस्पताल बिराटनगर रिफर गरिएको छ । चालक फरार रहेकोले खोजी भइरहेको जनाइएको छ ।

त्यस्तै सर्लाहीको बागमती नगरपालिका–५ रामपुरस्थित भित्री सडकमा ज १ त ९२६७ नम्बरको ट्याक्टरले शनिवार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने राजन राउतकी छोरी ५ वर्षीया रोजिना राउतको प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सर्लाहीको हरिवन नगरपालिका ११ चिनीमिल गेट अगाडि पूर्व–पश्चिम राजमार्गमा ना ६ ख ६६८१ नम्बरको ट्रकले शनिबार दिउँसो साईकललाई ठक्कर दिँदा साईकलयात्री लालबन्दी नगरपालिका ४ बस्ने ७० वर्षीय प्रेम दाहालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नमूना अस्पताल हरिवन हुँदै न्यूरो अस्पताल वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै बाँकेको राप्ती सोनारी गाउँपालिका ८ शम्शेरगञ्जस्थित पूर्व–पश्चिम राजमार्गमा रा ३ प २५४६ नम्बरको मोटरसाइकल शनिबार साँझ आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका कैलाली जोशीपुर गाउँपालिका १ घर भएका ३० वर्षीय रामबहादुर चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

त्यसैगरी कपिलवस्तुको शिवराज नगरपालिका १ नालास्थित पूर्व–पश्चिम राजमार्गमा ना ४ ख ८३५० नम्बरको ट्रक र ना ७ ख ६७४ नम्बरको बस शनिबार दिउसो एकआपसमा ठोक्किन गई दुर्घटना हुँदा बसका चालक बर्दिया मंगलगढी नगरपालिका ४ बस्ने २६ वर्षीय खिमराज बिकसहित बसमा सवार १९ जना, ट्रक चालक सल्यान त्रिबेणी गाउँपालिका ६ बस्ने २७ वर्षीय तारा बस्नेत र ट्रकका सहचालक समेत गरी २१ जना घाइते भएका छन् ।

घाइतेमध्ये ट्रक चालक समेत ३ जनालाई सञ्जिवनी अस्पताल चन्द्रौटा, बस चालक समेत १७ जनालाई चौराहा अस्पताल बुटवल पठाइएको छ भने १ जना सामान्य घाइते भएका छन् । घाइतेमध्ये बस चालक गम्भीर, १५ जना मध्यम र ४ जनाको अवस्था सामान्य रहेको भने १ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्धार कार्य एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्